Kath khabar
रेमिट्यान्सको पैसालाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्न चेम्बरको आग्रह



                 काठमाडौं, माघ १० । नेपाल चेम्बर अफ कमर्सले रेमिट्यान्सको पैसालाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्ने नीति बनाउन नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग आग्रह गरेको छ ।

रेमिट्यान्सको अधिकांश हिस्सा उपभोगमा मात्रै खर्च भएकाले उत्पादनमूलक क्षेत्रमा प्रभावकारी नीति सहित युवाहरूको लगानीलाई प्रोत्साहन गर्न चेम्बरले आग्रह गरेको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले मन्त्री भण्डारी समक्ष सिंहदरवारमा सोमबार औद्योगिक उत्पादन वृद्धि गरी निर्यात प्रर्वद्धन गर्न एवं विभिन्न आर्थिक विधेयकलाई अगाडि बढाउन आग्रह गर्दै १२ बुँदे सुझाव समेत पेश गरेको छ ।

मन्त्री भण्डारीसमक्ष अध्यक्ष मल्लले भन्नुभयो, ‘मुलुक रेमिट्यान्सका भरमा चलेको छ । युवाहरूले पठाएको पैसाको ठूलो हिस्सा उपभोगमै खर्च भएको छ । स्पष्ट नीति र कानून बनाएर उद्योगमा लगानीको वातावरण बनाउने हो भने निर्यात प्रर्वद्धन गर्न सकिन्छ ।’ वार्षिक १० खर्बभन्दा बढी रेमिट्यान्स मुलुक भित्रिँदा समेत औद्योगिक उत्पादनमा सदुपयोग गर्न नसकिएको अध्यक्ष मल्लले बताउनुभयो ।

औद्योगिक प्रर्वद्धनका लागि सातै प्रदेशमा निर्यात गृहको अवधारणा ल्याउन समेत मन्त्री भण्डारी समक्ष चेम्बरले आग्रह गरेको छ । यस्तै कालोबजारी ऐन २०३२ का कतिपय प्रावधान पनि हालको अवस्थामा असान्दर्भिक भएकाले समय सापेक्ष सुधार गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो  ।

संसदमा विचाराधीन निजी क्षेत्रसँग सम्बन्धित आर्थिक एवं अन्य विधेयकहरुलाई समयमै पारित हुने वातावरण बनाउन समेत मन्त्री भण्डारीलाई  आग्रह गरिएको अध्यक्ष मल्लले बताउनुभयो । स्थानीय श्रोतमा आधारित खनिजजन्य रत्न पत्थर लगायत कृषि, जडीबुटी, तथा बनजन्य उद्योगको प्रोत्साहनका लागि समेत चेम्बरले आग्रह गरेको छ । नेपालमा लगानीको वातावरण सिर्जना गर्नका लागि चेम्बरले अन्तराष्ट्रिय लगानी सम्मेलन छिट्टै गर्न समेत नवनियुक्त मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको छ ।

चेम्बर  टोलीसँगको भेटपछि मन्त्री भण्डारीले औद्योगिक नीतिमा सुधार गर्ने काम सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो । उद्योगको क्षमता बिस्तार गरेर ५० लाख युवालाई स्वदेशमै रोजगारी गर्ने गरी सरकारले योजना बगाईरहेको उहाँको भनाई छ ।

मन्त्री भण्डारीले भन्नुभयो, ‘संसद्को पहिलो बैठकमै रोजगारीको विषयले प्राथमिकता पाएको छ । उद्योगको क्षमता विस्तार गरेर विदेशमा रहेका युवालाई स्वदेशमै रोजगारी दिलाउने सरकारको मुख्य प्राथमिकता हो ।’ औद्योगिक क्षमता विस्तार गरेर निर्यात प्रर्वद्धन गर्ने नीति सरकारको साझा न्यूनतम कार्यक्रममा समेत उल्लेख भएकाले सरकार अव रणनीतिका साथ अघि बढ्ने मन्त्री भण्डारीको भनाई छ ।

वाणिज्य रणनीति बदल्ने तयारी भईरहेको समेत मन्त्री भण्डारीले जानकारी दिनुभयो । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीलाई चेम्बर अध्यक्ष मल्ल, निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल, उपाध्यक्षहरु दिपक कुमार मल्होत्रा, दिपक श्रेष्ठ, उर्मिला श्रेष्ठ लगायत पदाधिकारी टोलीले भेटवार्ता गरेको हो ।


 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update