Kath khabar
चितवनमा माघ २७ देखि पाँचौँ नेपाल एग्रिटेक प्रदर्शनी


                     चितवन, माघ १९ ।  कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको आयोजनामा माघ २७ देखि २९ सम्म चितवनमा प्रदर्शनी आयोजना हुने भएको हो । 

यस आयोजना हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरूका १५० भन्दा बढी स्टल रहने आयोजकले जनाएका छन् । प्रर्दशनीमा कृषिका कुखुरा पालन, माछा पालन, बाख्रा पालन, गाईभैँसी पालन, डेरी लगायत कृषिका नवीनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाइ, विषादी रहित कृषि लगायतका विषयमा जानकारी प्राप्त गर्न सकिने जनाइएको छ । कृषि उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ-संस्थाका प्रतिनिधि लगायत आम कृषकले प्रदर्शनीमा आधुनिक प्रविधिको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने आयोजकले विश्वास व्यक्त गरेका छन् । 

निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्‍याउने स-साना औजार देखि डेरी मेसिनरी तथा पशुपक्षी पालन उद्योगमा प्रयोग हुने ठुल्ठूला उपकरणको प्रदर्शनी लगायत डेमो पनि गरिने जनाइएको छ । यो मेला नेपालको कृषि क्षेत्रको यान्त्रिकी करणमा सहयोग पुर्‍याउन कोसेढुंगा साबित हुने आयोजकले विश्वास व्यक्त गरेका छन् । 

यो प्रर्दशनीसँगै नेपाल फुड एन्ड बेभरेज एक्स्पो पनि आयोजना हुन गइरहेको छ । यस फुड एन्ड बेभरेज एक्स्पोअन्तर्गत होटेल तथा रेस्टुरेन्ट, होस्टेल, क्याफे, क्याटरिङ लगायतका व्यवसायमा प्रयोग हुने विभिन्न खाद्यान्न सामग्री तथा उपकरण समावेश रहने जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update