Kath khabar
टेलिकमको १९औँ वार्षिकोत्सवको अवसरमा आजबाट फाइभजी परीक्षण, सर्वसाधारणले तत्काल चलाउन नपाउने

 

                      काठमाडौं, माघ २२ ।  नेपाल टेलिकमले आजबाट फाइभजी सेवाको आन्तरिक परीक्षण शुरु गरेको छ । आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले मोबाइल सेवाको पछिल्लो पुस्ता फाइभजीको आन्तरिक परीक्षण शुरु गरेको हो । 

फाइभजी नेटवर्कको आन्तरिक परीक्षण कम्पनीले आफ्नो बबरमहल र सुन्धारा स्थित कार्यालयबाट गर्दैछ । साथै केही समय पछी पोखरामा पनि परीक्षण थालिने कम्पनीले जनाएको छ । 

कम्पनीले आन्तरिक परीक्षण शुरु गरेको भएपनि तत्कालका लागि भने सर्वसाधारणले फाइभजी चलाउन नपाउने भएका छन् । फाइभजीका लागि उपलब्ध मोबाइल उपकरणहरूको इकोसिस्टम तयार भइनसकेको भन्दै तत्कालै सर्वसाधारणलाई परीक्षणकालीन सेवा नहुने बताइएको छ।

आइतबार देखि शुरु हुने फाइभजीको 'रियल टेस्टिङ' सेवा कम्पनीका सीमित कर्मचारीलाई मात्र उपलब्ध हुनेछ। यसअघि नै परीक्षण थाल्ने तयारी भएपनि फाइभजी सेट सीमित रुपमा उपलब्ध भएकाले केही ढिला भएको हो । 

नेपाल दूरसञ्चार प्राधिकरणले परीक्षणका लागि २६०० मेगाहर्ज ब्याण्ड अन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ । परीक्षणबाट पत्ता लागेका कुरालाई अघि बढाउँदै त्यसबाट व्यावसायिक प्रयोजनबाट शुरु गर्ने कम्पनीको योजना छ ।

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update