Kath khabar
७ वटा अमेरिकी साँढे, २६ लाख रुपैयाँमा खरिद गरि नेपाल ल्याइयो

 

                        काठमाडौं, माघ २२ ।  व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट ७ वटा साँढे नेपाल ल्याइएको छ । नस्ल सुधारका लागि पहिलो पटक ५ वटा जर्सी र २ वटा होल्स्टीन साँढे गएको शुक्रवार नेपाल ल्याइएको हो ।विश्व बैंकको सहयोगमा कृषि तथा पशुपक्षी मन्त्रालयको नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजनाअन्तर्गत मेट ग्रुपले ल्याएका ती साँढे अहिले खुमलटारमा रहेको पशु क्वरेण्टीनमा राखिएको छ ।

४-५ दिनपछि ती साँढे पोखराको लाम्पाटनमा रहेको राष्ट्रिय प्रजनन केन्द्रमा पठाइने आयोजनाका अनुगमन तथा मूल्याङ्कन अधिकृत डा. केशव भट्टले जानकारी दिनुभयो । ९ महिना देखि १ वर्षको वयस्क भएका ती साँढेबाट केही वर्षभित्रै नश्ल सुधार भइ देशभरि व्यावसायिक गाईपालन गर्न सहयोग पुग्ने उहाँँको भनाइ छ ।

अमेरिकाबाट ल्याइएका साँढेबाट होल्स्टीन, जर्सी र स्थानीय जातका गाईलाई कृत्रिम गर्भाधान गराइ सकेपछि त्यहाँ उत्पादन हुने सिमेन किसानलाई निःशुल्क रूपमा वितरण गरिने डा. भट्टले जानकारी दिनुभयो । अब नेपाली किसानले नस्ल सुधार पछि धेरै फाइदा लिन सक्ने र यसबाट उनीहरूको जीवनस्तरमा निकै सुधार आउने उहाँको विश्वास छ ।

विदेशबाट पशु ल्याउने सम्बन्धी स्पष्ट व्यवस्था नहुँदा र कोरोना महामारीका कारण झन्डै १ वर्षको प्रयास पछि मात्रै ती साँढे ल्याउन सकिएको मेट ग्रुपका प्रबन्धक निर्देशक सारिन केसीले बताउनुभयो । उहाँले भन्नुभयो, सुरुमा अमेरिकाको सिकागोबाट बङ्गलादेश भएर ल्याउने प्रयास असफल भएपछि कोलकाता र दोहाबाट पनि कोसिस गर्‍यौँ, सम्भव नभएपछि अन्तिममा नयाँ दिल्लीबाट नेपाल वायु सेवा निगमको विमान मार्फत ल्याउन सक्यौँ । जिउँदो पशुहरूको हकमा कुनै पनि विमानस्थलमा २४ घण्टाभन्दा बढी राख्न नपाइने प्रावधानका कारण पनि निकै समस्या झेल्नु परेको उहाँ बताउनुहुन्छ ।

सुरुमा १ करोड ३० लाख रुपैयाँमा सम्झौता भएकामा ढिलासुस्तीका कारण खर्च बढेर २ करोड रुपैयाँ पुगेको उहाँको भनाइ छ । प्रति साँढे १८ लाख रुपैयाँमा खरिद गरिएकामा पछि लागत बढ्न जाँदा झन्डै २६ लाख रुपैयाँ पर्न गएको छ । सम्झौता भएको रकम भन्दा घाटा नै खाएर साँढे नेपाल ल्याउन सफल भएको बताउँदै केसीले भन्नुभयो, यसमा हामीलाई निकै घाटा पर्न गएको भए पनि देशमा व्यावसायिक गाईपालन गर्न सहयोग पुग्ने आशा गरेका छौँ ।

साँढे ल्याउन सरकारले मेट ग्रुपसँग सहकार्य गरेको थियो भने ढुवानीमा क्विक फ्रेट लजिस्टिक कम्पनीले सहयोग गरेको थियो । यसअघि सन् १९०७ मा जङ्गबहादुर राणाले पहिलो पटक बेलायबाट साँढे ल्याएकामा त्यसपछि अहिले सरकारले नै बोलपत्र आह्वान गरी साँढे ल्याएको हो ।

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update