Kath khabar
नयाँ प्रविधिको फड्को, बच्चाको डाइपर भिज्नासाथ आमाबुबालाई फोन जाने

 

                      काठमाडौ, माघ २५ ।  अब छिट्टै नै अभिभावकलाई बालबालिकाको डाइपर फेर्न उनीहरूको रुवाइ पर्खिनु पर्ने छैन । पेन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्मीले बालबालिकाका लागि "स्मार्ट डाइपर" तयार पारेका छन् ।

सेन्सर समावेश भएको उक्त डाइपर भिज्नासाथ अभिभावकको फोनमा अलर्ट जान्छ । पेपरबाट बनेको उक्त डाइपरमा सोडियम क्लोराइड राखिएको छ ।

डाइपरको विभिन्न भागमा सर्किट बोर्डको रूपरेखा (आउटलाइन) हुन्छ । उक्त आउटलाइन ग्रेफाइट धातुले बनेको हुन्छ भने त्यसमा सानो लिथियम ब्याट्री राखिएको हुन्छ ।

स्मार्ट डाइपरको तहको बीचमा ४ ओटा सेन्सरहरू इम्बेड गरिएको छ, जसको विस्तृत जानकारी जर्नल नानो लेटरमा प्रकाशित छ । एकपटक डाइपर भिज्यो भने ग्रेफाइट धातुले त्यो तरल पदार्थ र सोडियम क्लोराइडसँग प्रतिक्रिया गर्छ ।

उक्त तरल पदार्थलाई पेपरले आफू तर्फ सोस्छ र इलेक्ट्रोन ग्रेफाइट हुँदै सेन्सरसम्म पुग्छ । यसरी सेन्सरले जानकारी पाउनसाथ फोनमा अलर्ट पठाउँछ । त्यसबाहेक पनि डाइपर कति अनि के कारणले भिजेको हो भन्ने पनि देखाउने रिपोर्टमा उल्लेख छ ।

साथै उक्त सेन्सरका माध्यमबाट बालबालिकाको स्वास्थ्य अवस्था पनि थाहा पाउन सकिने अनुसन्धानकर्मीको दाबी छ । जसले गर्दा अभिभावकले उक्त डाइपर परिवर्तन गर्ने वा नगर्ने भन्नेबारे निर्णय लिन सक्छन् ।

"यो प्रयोग वास्तवमा व्यक्तिगत अनुभवबाट जन्मिएको थियो,"  अनुसन्धान टोलीका प्रमुख डा. हुआन्यु चेङले भने, "डाइपर कसरी भिजेको छ भनेर जान्न सजिलो तरिका छैन । र त्यो जानकारी आमाबुबाका लागि साँच्चै मूल्यवान हुन सक्छ ।"

उक्त सेन्सर हस्पिटल वा नर्सिङ होममा पनि प्रयोग गर्न सकिने बताइएको छ । विशेष गरी हृदयघात वा निमोनिया जस्ता जटिल स्वास्थ्य समस्या पहिचान गर्न यो सेन्सरले सहयोग गर्ने अनुसन्धानकर्मीको भनाइ छ ।

डाइपर मात्र नभई, उक्त सेन्सर मास्कमा पनि प्रयोग गर्न सकिन्छ । यसका माध्यमबाट सेन्सरले नै बिरामीको स्वास्थ्य अवस्थाबारे पनि अलर्ट गर्न सकिने दाबी गरिएको छ ।

अनुसन्धानकर्मीका अनुसार छिट्टै नै सर्वसाधारणले यो "स्मार्ट डाइपर" प्रयोग गर्न सक्नेछन् ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update