Kath khabar
घरमा लाफिङ कसरी बनाउने ?


                      काठमाडौं, फागुन १९ । लाफिङ एक तिब्बती खाना हो । यो नेपालमा पनि लोकप्रिय बनेको छ ।  ‘लाफिङ’मा पिरो स्वाद हुनु नै यसको विशेषता हो । पिरोको साथमा नुनिलो, अमिलो लगायतको चटपटे स्वादका कारण धेरैजसो युवापुस्ताले यो परिकार मन पराउने गरेका छन् । सबैले मनपराउने लाफिङ घरमै कसरी लाफिङ बनाउने त जानौ ।

बिधि :
१ केजी मैदालाई आधा लिटर पानी हालेर मुछेर डो बनाउनुहोस् । डोलाई १/२ घण्टासम्म छोपेर राख्नुहोस् । त्यसपछि त्यो डोलाई एक लिटर पानीमा डुबाएर मज्जाले मुछ्नुहोस् । स्टार्च नआउन्जेल र ग्लुटेन अलग नभएसम्म आटालाई हातले मुछ्नुहोस् । यसरी मुछ्दा छोक्रा र दुधजस्तो पानी निस्कन्छ । अब स्टार्चबाट ग्लुटेन निकाल्नुहोस् र पानी छोप्नुहोस् र कम्तिमा २/३ घण्टा वा स्टार्च र पानी पूर्ण रूपमा अलग नभएसम्म छोडिदिनुहोस् । रातभर राख्दा अझ राम्रो हुन्छ।

त्यसपछि यो मिश्रणलाई पानीमा ग्लुटेन अलग गर्नको लागि छान्नुहोस् । छानेपछि बाँकी रहेको दुधको सेतो पानीलाई अलग राख्नुहोस् । त्यसपछि स्ट्राचलाई एउटा प्लेटमा फिजाएर स्टिमरमा हाल्नुहोस् । त्यसलाई तीन मिनेटजति स्टिम गरेपछि जमेर पातलो रोटीजस्तो सिट बन्छ । त्यसपछि छोक्रालाई पनि स्टिम गरी पकाउनुहोस् । अब लाफिङको सिट तयार भयो । यसलाई चिसो हुन दिनुहोस्, त्यसपछि टुक्रा टुक्रा गरेर काट्नुहोस् ।

अब लाफिङको सस बनाउनको लागि दुई चम्चा भुटेको तिल, चिल्ली आयल, सोया सस, तिलको तेल, मसिनो गरी काटेको हरियो प्याज, नुन, कागती वा भेनेगर, लसुन, अदुवा, चिल्ली पेष्ट हालेर मिसाउनुहोस् । यसमा कालो मरिचको धुलो पनि मिसाउन सक्नुहुन्छ । त्यसपछि तिलको तेललाई मज्जाले तताएर झान्नुहोस् । अब लाफिङ सस पनि तयार भयो । यसरी घरमै लाफिङ बनाउनु सकिन्छ ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update