Kath khabar
हेमजा आलु महोत्सवमा ५ करोडको आलु बिक्री

 

                हेमजा, वैशाख ४ ।  आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सवमा ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

गत चैत २६ गतेदेखि सुरु भएको ११ औँ संस्करणको राष्ट्रिय हेमजा महोत्सवमा ८० टन आलु बिक्री हुँदा ५ करोड रुपैयाँको कारोबार भएको हो । हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले त्यहाँ उत्पादित आलुको माग उच्च हुने गरेको महोत्सवको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए ।

आइतबार सम्पन्न महोत्सव समापन समारोहमा कृषक सम्मान, कृषक परिचयपत्र वितरण, कृषि एम्बुलेन्स प्रदर्शनी लगायत विभिन्न पुरस्कार वितरण गरिएको छ ।  पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको समन्वयमा विभिन्न वडाका उत्कृष्ट २४ किसानलाई सम्मानपत्र सहित नगदले सम्मान गरिएको हो । 

त्यस्तै, हेमजाका किसान देवीरमण पौडेल, अमृत पौडेल, वीर बहादुर कार्की, सुनिता श्रेष्ठ, शीलशोभा नेपाली र निरज तिमिल्सिना साथै शिक्षा सेवीद्वय चर्तुरमान श्रेष्ठ र टासी फुनचोक पनि सम्मानित भए ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आगामी वर्षदेखि आलु महोत्सवलाई रातो किताबमा नै व्यवस्था गरी रकम विनियोजन गर्ने प्रतिबद्धता जनाए । उनले एक वडा एक उत्पादन गर्ने उद्देश्यका साथ महानगर अगाडि बढिरहेको जनाउँदै कृषिलाई आय आर्जनसँग जोडे मात्रै समृद्धि हासिल हुनसक्ने पनि बताए । क्लबको बहुउद्देश्यीय भवन निर्माणमा पनि महानगर सहयोग गर्न तत्पर रहेको पनि उनले बताए ।

पोखरा-२५ हेमजाका वडाध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले आलु महोत्सवको चर्चा देश विदेशमा हुने गरेको भन्दै योसँगै हेमजाको इज्जत बढेको बताए । प्रवक्ता तिम्सिनाले महोत्सवका महानगरको कृषि महाशाखाको भूमिका प्रशंसनीय रहेको पनि बताए ।

कृषि अनुसन्धान निर्देशनालय लुम्लेका निर्देशक डा. कालिका प्रसाद उपाध्यायले हेमजामा लगाइने एमएस् ४२ जातको आलु उन्मोचनमा निर्देशनालयको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्दै आलु उत्पादन गर्ने क्षेत्र घट्दै जानु दुःखद् भएको औँल्याए । 

महोत्सवकै अवसरमा भएका रत्यौती गीत, झाँकी प्रदर्शनी लगायका सहभागीलाई क्लबले सम्मान गरेको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update