Kath khabar
‘लम्पी स्किन’ रोगबाट धमाधम पशुचौपाया मर्न थाले

 

              बैतडी, जेठ ३ ।  बैतडीमा 'लम्पी स्किन' रोगबाट ३ सय बढी घरपालुवा पशु मरेका छन्। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार उक्त रोगका कारण ३ सय २५ पशुचौपाया मरेका हुन्।

समस्याका रूपमा फैलिएको 'लम्पी स्किन' रोगका कारण गाईगोरु र भैँसी धमाधम मर्न थालेका छन्। जिल्लाभरि लम्पी स्किनका कारण ३ हजार बढी पशुचौपाया बिरामी परेका छन्। सबैभन्दा बढी मेलौली नगरपालिकामा लम्पी स्किनको प्रकोप फैलिएको बताइएको छ।

मेलौलीमा लम्पी स्किनबाट १ हजार ३ सय ५० पशुचौपाया बिरामी परेका छन् भने २५ पशुचौपाया मरेका छन्। यस्तै २ हजार ४ सय पशुचौपाया प्रभावित भएका छन्। यस्तै जिल्लाको पाटन नगरपालिकामा ३ सय ५० पशुचौपाया बिरामी परेका छन् भने ११ पशुचौपाया मरेका ६ सय पशुचौपाया प्रभावित भएका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।

यस्तै, पुर्चौंडी नगरपालिकामा सोही रोगबाट १ हजार पशुचौपाया बिरामी परेका छन् भने १ सय ९० पशुचौपाया मरेका छन्। पुर्चौंडीमा उक्त रोगबबाट १ हजार ८ सय पशुचौपाया प्रभावित भएका छन्। यस्तै सुर्नया गाउँपालिकामा २ सय ७० पशुचौपाया बिरामी परेका छन् भने १२ मरेका छन्। १ हजार २ सय ७५ पशुचौपाया प्रभावित भएका छन्।

जिल्लाको शिवनाथ गाउँपालिकामा ५ सय पशुचौपाया बिरामी परेका छन् भने ५० पशुचौपाया मरेका छन्। शिवनाथमा १ हजार २ सय पशुचौपाया प्रभावित भएका छन्। यस्तै दोगडाकेदार गाउँपालिकामा ६८ पशुचौपाया बिरामी परेका छन् भने १४ पशुचौपाया मरेका छन्। दोगडाकेदारमा लम्पी स्किनबाट २ सय ५० पशुचौपाया प्रभावित भएका छन्।

यस्तै डिलाशैनी गाउँपालिकामा ५० पशुचौपाया बिरामी परेका छन् भने १३ पशुचौपाया मरेका छन्। सोही रोगबाट स्किनबाट २ हजार २ सय पशुचौपाया प्रभावित भएका छन्  यस्तै सिगास गाउँपालिकामा १ सय ७० पशुचौपाया बिरामी परेका छन् भने ४ सय ५० पशुचौपाया प्रभावित भएका छन्।

पञ्चेश्वर गाउँपालिकामा उक्त रोगका कारण ३ सय २५ पशुचौपाया बिरामी, ५ मरेका र २ हजार प्रभावित भएका छन्। दशरथचन्द नगरपालिकामा ४३ बिरामी, १ मरेका र ३ हजार ५ सय प्रभावित भएका जनाइएको छ। लम्पीस्कीनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित बनेका छन्। लम्पी स्किनबाट गाईगोरु बढी प्रभावित भएका छन्। रोग फैलिएकोबारे प्रदेश सरकारलाई जानकारी गराइसकेको केन्द्रले जनाएको छ।

पशुचौपायामा ज्वरो आउने, सिगान तथा र्‍याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्ने लगायत लक्षण देखिने गरेका छन्। सो रोगको औषधि नभएका कारण रोगबाट प्रभावित पशुको उपचारमा समस्या भएको पशु प्राविधिकले बताएका छन्। बैतडीमा गत मंसिरमा पाटनमा केही पशुचौपायामा यसका लक्षण देखापरेको र परीक्षण गर्दा गत फागुनमा यो रोग भएको प्रमाणित भएको थियो। शुरुमा पाटनमा मात्रै देखापरेको यो रोग हाल जिल्लाका सबै स्थानीय तहमा फैलिएको छ।

यो रोग झिंगा, मच्छर र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ। रोग नियन्त्रण गर्न किसानले भुसुना, कीरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ। 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update