Kath khabar
आर्थिक वर्षको १० महिनामा अलैँचीको निर्यात ह्वात्तै बढ्यो

 

                  काठमाडौं, जेठ १४ ।  मुलुकबाट कुल निर्यात घटिरहेका बेला स्वदेशी उत्पादन अलैँचीको निर्यात भने ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन देखि वैशाख) सम्म अलैँची निर्यात ७२ प्रतिशतले बढेर ७ अर्ब २८ करोड १४ लाख २५ हजार रुपैयाँ बराबरको ८९ लाख २१ हजार ६७९ केजी निर्यात भएको छ ।

चालु आर्थिक वर्षको १० महिनामा नेपालको कुल निर्यात २४ प्रतिशतले घटेर १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँको भएकोमा नेपालमा उत्पादित अलैँचीको निर्यात भने बढेको हो ।

गत वर्ष सो अवधिमा ४ अर्ब २२ करोड १९ लाख ९७ हजार रुपैयाँ बराबरको ४६ लाख ७० हजार ३६३ किलो अलैँची निर्यात भएको थियो । चालु आर्थिक वर्षमा अलैँची दोब्बर परिमाणले निर्यात भएको विभागको तथ्याङ्क छ । आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँ बराबरको ५३ लाख ६७ हजार ४४३ किलो अलैँची निर्यात भएको थियो । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गए पनि निर्यातमा समेत वृद्धि भएको हो ।

नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची, जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिका लगायतका देशमा निर्यात हुने गर्छ । नेपाली अलैँची निकासी हुने ठुलो बजार भनेको भारत नै हो । नेपालबाट भारततर्फ गएको अलैँचीलाई भारतले प्याकेजिङ गरेर आफ्नो ब्रान्ड बनाएर अन्य देशमा निर्यात हुने गरेको पाइएको छ ।

नेपालले नै अन्तर्राष्ट्रिय रूपमा अलैँचीको बजारीकरण गर्दै आफ्नो उत्पादनको उच्च मूल्य पाउने अवस्था सिर्जना गर्नेतर्फ पहल हुनुपर्ने विज्ञहरूले औँल्याएका छन् । अलैँची औषधी र मसलाका रूपमा प्रयोग गर्ने गरिन्छ । व्यापारविज्ञ रविशङ्कर सैँजूले अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएकाले अलैँची निर्यातमा वृद्धि भएको जानकारी दिए ।

यसैबिच १० महिनाको अवधिमा चियाको निर्यात २१ प्रतिशतले बढेको छ । साउन देखि वैशाखसम्म ३ अर्ब ३४ करोड ७४ लाख ३४ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ८४ हजार ५१६ किलो चिया निर्यात भएको तथ्याङ्क छ ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update