Kath khabar
कैलालीको कैलारी गाउँपालिकामा बगरमा खेती गर्नेलाई शतप्रतिशत अनुदान

 

                 कैलाली, जेठ २३ ।  कैलालीको कैलारी गाउँपालिकाले बर्सेनि बाढी र डुबानबाट प्रभावित हुँदै आएका परिवारलाई लक्षित गरी बगर खेतीमा शतप्रतिशत अनुदान दिएको छ। 

कैलालीमा सबैभन्दा बढी बाढी र डुबानबाट प्रभावित हुँदै आएको गाउँपालिकाले प्रभावित परिवारको दैनिक जीविकोपार्जन सहज बनाउन बगर खेतीमा प्रोत्साहन गरेको हो । गएको वर्षको बाढीबाट विस्थापित १६ घर परिवारलाई टेन्ट र जङ्गलमा बसोबास गराउँदै आएको गाउँपालिकाले खासगरी मोहनपुर, शिवरत्नपुर, हौसलपुर, बैसपुर लगायतका बाढी प्रभावितलाई बगर खेतीमा अनुदान दिएको हो ।

बगर खेती गर्ने प्रविधिका बारेमा गाउँपालिकाको विभिन्न सामाजिक संस्थासँग सहकार्य गरेर इच्छुक किसानहरुलाई खेती प्रणालीको प्रशिक्षण दिने गरेको गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताउनु भयो ।  

उहाँले भन्नुभयो 'यो गाउँपालिका जिल्लामै सबैभन्दा बढी बाढी प्रभावित क्षेत्र हो । गएको वर्षको बाढीले वडा नम्बर ३ को शिवरत्नपुरमा १६ घर परिवार सहितको बस्ती नै बगाएको थियो। उनीहरुको एकधुर पनि जमिन छैन । मोहना जस्ता ठूलाठूला नदीका कारण बजेटको कमीले तटबन्ध निर्माण हुन सकेको छैन ।  पूरै क्षेत्रमा तटबन्ध गर्नुपर्ने हुन्छ ।'

गाउँपालिकाबाट अनुदान पाए पछि बाढी प्रभावित समुदाय बगर खेतीमा लागेका हुन् । गाविसले उनीहरुलाई बालुवामा खेती गर्ने तरिका सिकाउनुका साथै बीउ, मल तथा कृषि विज्ञको सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ । अहिले मोहना, घुरा लगायतका नदी किनारमा बारेर किसानहरुले बगर खेती गरेको देख्न सकिन्छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update