Kath khabar
लोकल कुखुराको दाना घरमा कसरी बनाउने ?

 

                   काठमाडौं, जेठ  २६ । कुखुराको शारीरिक विकास र उत्पादन क्षमताको लागि विभिन्न प्रकारको पोषण तत्वहरुको आवश्यकता पर्दछ जसको आपूर्ति दानाको माध्यमबाट गरिन्छ । कुखुराको शारीरिक वृद्धि तथा विकासको लागि दाना आवश्यक हुन्छ ।

कुखुरालाई दिने दानाको प्रभावकारितामा सुधार ल्याउन सकेमा मुनाफा बढ्न सक्छ । लोकल कुखुराको लागि हामीले घरमै पनि दाना तयार गर्न सक्छौं । कुखुराको दाना घरमै बनाउँदा पैसा बचत हुन्छ । बजारमा पाइने दानामा अरु केमिकलहरू पनि मिसाइने हुनाले कुखुराहरु चाडै बढ्छन् । तर बजारको दाना महँगो हुन्छ ।

घरमा बनाएको दाना खुवाँउदा कुखुरा बढ्न १ देखि २ हप्ता ढिला हुन्छ । तर ढिला हुर्किने भएपनि बजारमा पाउने दानाभन्दा कम खर्चिलो हुनुको साथै कुखुराले मन लगाएर खाने र कुखुरालाई आवश्यक पर्ने सबै पोषक तत्वहरु उपलब्ध हुने हुन्छ जसले आम्दानी पनि बढाउँछ । लोकल कुखुराको दाना घरमै बनाउने तरिका जानौ -

चाहिने सामान  
१ ) चामलको ढुटो
२) मकै
३) नुन
४) पिना
५) चुनधुलो
६) बेसार
७) कनिका

१) चामलको ढुटो - चामलको ढुटोमा कार्बोहाइड्रेड र प्रोटिनको मात्रा हुन्छ, त्यसले यो दानामा मिसाइने गरिन्छ । दाना बनाउँदा राम्रोसँग मात्रा मिलाएर राख्नु पर्दछ । २० के.जी दानामा ४ केजी ढुटो मिसाउने ।

२) मकै - कुखुराको आहारामा मकैको महत्वपूर्ण भूमिका रहेको हुन्छ । कुखुराको शरीरले माग्ने कार्बोहाइड्रेड आपूर्ति मकैले गर्दछ । २० केजी दाना बनाउँदा ८० प्रतिशत मकै आवश्यक पर्दछ । २० केजी दानामा १२ केजी मकै राख्ने । मकैको दाना दिँदा हामीले कुखुरा कत्रो छ त्यो हेरेर दिन जरुरी छ । सिङ्गै खान सक्नेलाई सिङ्गै आदि खान सक्नेलाई आदि र खान नसक्नेलाई टुक्रा पारेर च्याख्ला बनाएर दिनुपर्दछ । जसले जस्तो खान सक्छ त्यही अनुसार दिनुपर्दछ ।

३) नुन - कुखुराको खानामा नून हुँदै भएन भने कुखुरा कुखुरा जुध्ने, झगडा गर्ने, झगडा गर्दा गर्दै प्वाँख खाने, रगत खान पल्कने, आन्द्राभुँडी निकाली खाने जस्ता समस्या हुन सक्छ । त्यसकारण पनि कुखुरालाई नुन दिन आवश्यक पर्दछ । त्यसको लागि हामीले २० केजी दानामा ६० ग्राम नुन राख्नुपर्छ ।

४) पिना - पिनामा प्रोटिन हुने हुँदा कुखुराको वृद्धिको लागि, मासु वृद्धिको लागि सबैभन्दा धेरै चाहिने प्रोटिन हो । २० केजी दानामा १ केजी भटमासको पिना र १ केजी तोरीको पिना राख्नुपर्छ । यदि भटमासको पिना नपाएको खण्डमा तोरीकै पिना २ केजी राख्नुपर्दछ । पिनामा कुखुराको पाचनप्रणालीलाई असर गर्ने तत्व हुन्छ त्यसकारण पिनालाई हामीले तताएर मात्र दानामा मिसाउनु पर्छ ।

५) चुन धुलो - चुनधुलोले कुखुरालाई क्याल्सियमको मात्रा पूर्ति गर्न मद्दत गर्दछ । जसले गर्दा कुखुराको हड्डी बलियो हुने र आउने दिनहरूमा पोथिहरुले अण्डा राम्रो तथा धेरै अण्डा पार्ने हुन्छ । चुनधुलो नखुवाउनाले पनि कुखुराहरुमा धेरै समस्याहरु देखापर्ने गर्दछ । यसको कमीले कुखुरा कमजोर हुने गर्दछ । २० केजी दानामा ३०० ग्राम चुनधुलो राख्नै पर्ने हुन्छ ।

६) बेसार - बेसारले कुखुराको इम्युनिटी पावर बढाउँछ । यसले कुखुरालाई संक्रमण हुनबाट बचाउँछ । हामीले २० केजी दानामा बेसार ४० देखि ६० ग्राम राख्नु पर्दछ । बेसारले एन्टिबायोटिकको काम गर्ने हुनाले बेलाबेलामा पानीमा राखेर पनि कुखुरालाई दिन सकिन्छ ।

७) चामलको कनिका - कनिकाले कुखुराको दानामा कार्बोहाइड्रेडको मात्रा पुर्याउने काम गर्दछ । यसले सोलिड फुडको काम गर्ने हुनाले कुखुरालाई अडिने क्षमता प्रदान गर्दछ । २० केजी दानामा १ केजी ६०० ग्राम कनिका राख्नुपर्दछ ।

कुखुराको दाना तयार पार्दा कुखुराको अवस्था अनुसार आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरु उपलब्ध हुनेगरि अनुपात मिलाउनुपर्छ ।  यदि त्यसमा गडबड भयो भने त्यही कुखुराको दाना विषादी बन्न सक्छ ।

दाना बनाउँदा हामीले थोरै थोरै राख्दै घोल्दै बनाउनु पर्दछ । यसो गर्नाले चारैतिर बराबर मात्राले मिसिन्छ । दाना खुवाएर पनि कुखुरालाई १ हप्ता अथवा २ हप्तामा १ पटक बजारमा पाइने मल्टिभिटामिन र लिभरटोनिक खुवाउँदा अझ बढि राम्रो गर्दछ । यसले कुखुराको दानामा अपुग रहेका पोषक तत्वहरु पुर्याउने काम गर्छ । दानालाई बनाइसकेपछि चिसो र सुख्खा ठाउँमा भण्डारण गर्नुपर्दछ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update