Kath khabar
गण्डक नहरमा भारतले पानी नछाड्दा बारा, पर्सा र रौतहटका किसानले धान रोप्न पाएनन्

 

                   बिरगंज, असार १७ ।  भारतले गण्डक नहरमा पानी नछाड्दा बारा, पर्सा र रौतहटका धेरै किसानले धान रोप्न पाएका छैनन् । असारको पहिलो हप्ता नै रोपाइँ गर्नुपर्नेमा भारतले नहरमा पानी नछाडिदिँदा रोपाइँ गर्न नपाएको किसानको गुनासो छ ।

गण्डक नहर व्यवस्थापन गर्ने निकाय नारायणी सिँचाइका सूचना अधिकारी एवम् इन्जिनियर सुरेश प्रसाद साहले भारतीय पक्षले मर्मतको बहाना गरेर पानी नछाडेको बताउनु भयो ।  

गण्डक सम्झौता अनुसार गहुँबालीको लागि पुस १ गते र धानबालीको लागि असार १५ गते ८ सय ५० क्युसेक पानी भारतीय पक्षले नेपाललाई दिनुपर्छ । अहिले भारतले जम्मा २ सय क्युसेक पानी छाडेको र यसले धेरै किसानको खेतमा पानी नपुग्ने साहले बताउनुभयो ।

गण्डक नहरको पानीले पर्सा, बारा र रौतहट गरी ३ वटा जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गामा सिँचाइ गर्ने योजना थियो तर हरेक वर्ष भारतले कुनै न कुनै बहाना गरेर पानी छाड्न आनाकानी गर्दै आएको छ ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जका प्रमुख मनोरञ्जन कुमार सिंहले नेपालतर्फ आफूहरुले मर्मतको सबै काम सके पनि भारतले भने अझै मर्मतको काम सकिएन भन्नु अचम्मको कुरा भएको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update