Kath khabar
लम्पी स्किन : ४ महिनामा २६ हजार ९ सय पशु मरे, रोकथामका लागि १० लाख ३७ हजार डोज खोप आयात

 

               काठमाडौं, असार २८ ।  लम्पी स्किन रोगले ७ लाख ६४ हजार चौपाया संक्रमित भएका छन्। ४ महिनामा २६ हजार ९ सय पशु मरे भने किसानलाई साढे ३७ अर्बको नोक्सानी भएको छ। पशुचौपायामा फैलिएको लम्पी स्किन रोग रोकथामका लागि अहिलेसम्म १० लाख ३७ हजार डोज खोप आयात भएको छ । आयातित खोपमध्ये २ लाख २२ हजार ७ सय ५१ पशुलाई लगाइएको पशु सेवा विभागले जनाएको छ ।

रोगको महामारी नियन्त्रण गर्नका लागि सरकारले निजी क्षेत्रलाई खोप आयातको स्वीकृति दिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा.रामनन्दन तिवारीले बताउनु भएको छ । उहाँका अनुसार गाईभैँसीको खोपका लागि ०७९/८० मा खर्च गर्ने गरी महानगरपालिका र सङ्क्रमण नफैलिएका जिल्ला बाहेक हरेक पालिकामा महामारी नियन्त्रण गर्न सङ्घीय सःसर्त अनुदान अन्तर्गत १ लाख रुपैयाँका दरले रकम विनियोजन गरिएको छ । यो रकमबाट उपचार तथा खोप खरिद गर्न सबै पालिकालाई आग्रह गरेको डा.तिवारीले बताउनुभयो । लम्पी स्किन रोग नियन्त्रणमा सरकार गम्भीर नभएको भन्दै राहतको माग सहित किसानले आन्दोलन थालेका छन् ।

हिजो विभिन्न ६ बुँदे माग सहित पशु सेवा विभाग परिसरमा उनीहरुले धर्ना समेत दिएका थिए । लम्पी स्किन गाईभैँसीमा लाग्ने महामारी रोग हो । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठाहरू देखिन्छ । डा. तिवारीका अनुसार लम्पी रोग देखिने बित्तिकै गाईभैँसीलाई बथानबाट छुट्याएर अलग्गै राख्नुपर्छ । ज्वरो आएको पशुलाई आराम गराउन र पानी तथा पोषणयुक्त खानेकुरा दिन पनि उहाँको आग्रह छ ।

पशु सेवा विभागको पछिल्लो विवरण अनुसार देशभर ७ लाख ६४ हजारभन्दा धेरै पशुचौपायामा यो रोग देखिएको छ । सङक्रमित मध्ये ४ लाख ९३ हजार पशु निको भएका छन् । झण्डै २७ हजार ९ सय पशु मरेका छन् । अहिले २ लाख ४४ हजार भन्दा धेरै पशुमा रोगको सङ्क्रमण छ ।

समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसके झण्डै २५ लाख पशुचौपायामा सङ्क्रमण फैलिने र १ लाख गाईभैँसी मर्ने नेपाल पशु चिकित्सा परिषद्को अनुमान छ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update