Kath khabar
'लम्पी स्किन'ले गाईभैँसी मरेपछि किसान चिन्तित

 

                   काठमाडौं, असार २९ । अहिलेसम्म देशभर ७ लाख ६४ हजारभन्दा धेरै गाईभैँसी लम्पी स्किनबाट सङ्क्रमित भएका छन् । लम्पी स्किन गाईभैँसीमा भाइरसका कारण लाग्ने रोग हो । यो अहिले महामारीको रूपमा फैलिएको छ । रोग लागेपछि पशुहरूमा धेरै ज्वरो आउने, छालामा गोलो गिर्खारगाँठाहरू आउने, र्‍याल, सिँगान बग्ने, खुट्टा, जोर्नीहरू सुन्निने जस्ता लक्षणहरू देखापर्छ । 

नेपालमा यो रोग पहिलो पटक २०७७ सालको असार महिनामा मोरङको सुन्दरहरैँचा नगरपालिकामा देखापरेको थियो । शुरुका २ वर्षमा १६ जिल्लाका २९ वटा पालिकामा ३ हजार ३ सय एक पशु सङ्क्रमित भएका थिए । त्यसपछि २०७९ सालको चैत देखि कोशी प्रदेशबाट महामारीको रूपमा फैलिएर अहिलेसम्म देशभर पुगिसकेको छ । कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका मध्य पहाडी क्षेत्रमा यसले महामारीको रूप लिएको छ ।

रोग नियन्त्रणका लागि पशु सेवा विभागले आफ्ना मातहतका निकायमा पशु स्वास्थ्यकर्मी परिचालन गरेको छ । साथै विभागमा रोग नियन्त्रण कक्ष पनि स्थापना गरिएको छ । रोगका उपचार, अनुसन्धान र प्राविधिक सल्लाहका लागि पनि सङ्घ, प्रदेश र पालिकामा पनि टोली परिचालन गरिएको पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिनुभयो ।

लम्पी स्किन रोग नियन्त्रणका लागि अहिले बजारमा विभिन्न किसिमका खोपहरू उपलब्ध छन् । कतिपय पालिकाहरूले खोप किनेर निःशुल्क किसानलाई उपलब्ध गराएको पनि ढकालले बताउनुभयो । अहिलेसम्म २ लाख २२ हजार ७ सय ५१ डोज खोप सङ्क्रमित पशुहरूलाई लगाइसकिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै १० लाख डोज खोप बजारमा आइरहेको उहाँले बताउनुभयो ।

रोगले महामारीको रूप लिएको भए पनि सरकार रोगको उपचार तथा किसानलाई राहत तथा क्षतिपूर्तिका लागि गम्भीर नभएको भन्दै विरोध भइरहेको छ । बुधवार पशु सेवा विभागको कार्यालय ललितपुरको हरिहर भवनमा राष्ट्रिय किसान सञ्जालको नेतृत्वमा किसानले धर्ना पनि दिए ।

सञ्जालका अध्यक्ष गणेश तिमल्सिनाले रोग पूर्ण नियन्त्रणमा ल्याउन खोपको व्यवस्था गर्नुपर्ने, बीमा गरेका र नगरेका किसानलाई उचित क्षतिपूर्ति र राहत दिनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो । बीमा गरेका किसानले समयमै बीमाको रकम पाउनुपर्ने र बीमा नगरेका किसानलाई पालिकाहरूले तथ्याङ्क सङ्कलन गरी उचित क्षतिपूर्ति दिनुपर्ने उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, ‘बीमा गरेका किसानले बीमाको रकम नपाएका कारण बीमा प्राधिकरणमा डेलिगेशन जाने, बीमा नगरेका किसानलाई पनि उचित क्षतिपूर्ति दिनुपर्ने र खोप उपलब्ध गराउन सरकारलाई दबाब दिनका लागि सञ्जालको बैठक बसिरहेको छ ।’

लम्पी स्किनबाट प्रभावित किसानलाई सरकारले क्षतिपूर्ति दिने निर्णय गरेको छैन । ‘लम्पी स्किन रोग जति सङ्क्रामक छ यसको मृत्युदर कम छ । अहिलेसम्म बीमाले यसको क्षतिपूर्ति गरिरहेको हुनाले यसको विकल्प भनेको बीमा नै हो’, पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकाल भन्नुहुन्छ । 

तर सबै किसानले गाईभैँसीको बीमा गराएका छैनन् । बीमा गराएकाले पनि त्यस बापतको रकम पाएका छैनन् । यस्तो बेला पालिकास्तरबाटै राहत उपलब्ध गराउनुपर्ने किसानको माग छ । 

गाउँपालिका राष्ट्रिय महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे यस पटक लम्पी स्किनबाट अनुमान गरेभन्दा बढी क्षति भएको बताउनुहुन्छ । महासङ्घले पालिकाहरूमा प्राविधिक खटाउने र उनीहरूको सल्लाह अपनाउन किसानलाई अनुरोध गरेको छ । पाण्डे भन्नुहुन्छ, ‘गोठहरू सरसफाइ गर्ने, गाईवस्तुले के खान्छ हेरेर खान दिने र ज्वरो नियन्त्रणका लागि प्राविधिक खटाउने तथा उनीहरूको सुझावको आधारमा औषधि उपचार गर्न लगाउने काम भएको छ ।’

अहिले महासङ्घले वडाका प्रतिनिधिहरूलाई खटाएर किसानका मरेका पशुहरूको तथ्याङ्क सङ्कलन गर्ने काम गरिरहेको छ । ‘अहिले क्षतिको आँकलन गर्ने काम भइरहेको छ । व्यावसायिक पशुपालन गर्ने किसानहरू एकदम मर्माहत हुनुहुन्छ । उहाँहरूलाई यसबाट केही राहत उपलब्ध गराउने वातावरण कसरी हुन्छ भनेर तथ्याङ्क सङ्कलन गर्दैछौँ’, पाण्डे भन्नुहुन्छ, ‘अवस्था हेरेर किसानलाई केही राहत कसरी हुन्छ भनेर उपायहरू आँकलन गरिरहेका छौँ ।’

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update