Kath khabar
नेपाली पब्जी टिम डीआरएस गेमिङले ३ दिनमै कमायो १ करोड २० ला‍ख

 

                  काठमाडौं, असार ३१ । नेपाली पब्जी टिम डीआरएस गेमिङले तीन दिनमा ९० हजार अमेरिकी डलर (करिब १ करोड २० लाख नेपाली रुपैयाँ ) जितेको छ । मंगलबार देखि बिहिबारसम्म चलेको पब्जी प्रतियोगिता ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल (पीएमडब्लूआई) २०२३’ को अलस्टार्स स्टेजमा तेस्रो हुँदै डीआरएस गेमिङले यो पुरस्कार राशि जितेको हो ।

पहिलो दिनमा मध्यम खालको सुरुवात गरेको डीआरएस गेमिङले दोस्रो दिनमा उत्कृष्ट खेल्दै अङ्क तालिकामा सातौँबाट दोस्रो स्थानमा उक्लिएको थियो । तर तेस्रो दिनमा त्यो खालको खेल देखाउन नसक्दा टिम दोस्रो स्थानको टिमभन्दा ४ पोइन्टले पछाडि परेको हो । अलस्टार्स स्टेजको अङ्क तालिकाको पहिलो स्थानमा थाइल्यान्डको पब्जी टिम भ्याम्पाएर ई-स्पोर्ट्स र दोस्रो स्थानमा कोरियन पब्जी टिम डिप्लस किया रहेको छ ।

डीआरएसले अलस्टार्स स्टेजमा कूल ९८ एलिमिनेसन पोइन्ट र २ चिकेन डिनर सहित कूल १५३ ल्याएको छ । पहिलो स्थानमा रहेको टिम भ्याम्पाएर ई-स्पोर्ट्सको १८७ र दोस्रो स्थानमा रहेको टिम डिप्लस किया १५७ पोइन्ट रहेको छ । यसका साथै अलस्टार्स स्टेजको मस्ट भ्यालुएबल प्लेयर डीआरएस गेमिङका किलरवाइटी भएका छन् । उनले अलस्टार्स स्टेजमा ३५ एलिमिनेसन गरेका  थिए । 

अलस्टार्स स्टेजको विजेता भ्याम्पाएर ई-स्पोर्ट्स १ लाख ४० हजार डलर (करिब एक करोड ८५ लाख रुपैयाँ) र उपविजेता डिप्लस कियाले १ लाख १५ हजार डलर (करिब १ करोड ५१ लाख रुपैयाँ) जितेका छन् । यो सँगै अङ्क तालिकाको शीर्ष ७ टिम मेन टुर्नामेन्टको लागि पनि छनोट भएका छन् । जसको पुरस्कार राखि २० लाख अमेरिकी डलर (करिब २६ करोड ३८ लाख रुपैयाँ) रहेको छ ।

अर्को चरणमा डीआरएस गेमिङ, भ्याम्पाएर ई-स्पोर्ट्स, डिप्लस किया सँगै गैमिन ग्लाडिएटर्स, अल्फा सेभेन ई-स्पोर्ट्स, टिम फाल्कोनस् एएफ र इन्फिनिटी आइकिउ रहेका छन् । मेन टुर्नामेन्ट शुक्रबार देखि आइतबारसम्म चल्नेछ । जसको लाइभ दिउँसो ४:४५ देखि ‘पब्जी मोबाइल ई-स्पोर्ट्स साउथ एसिया’को फेसबुक पेज तथा युट्युब च्यानलबाट हेर्न सकिने छ ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update