Kath khabar
नेपाल एयरलाइन्सले काठमाडौं ट्रान्जिट बनाएर हङकङ र दिल्ली नियमित उडान भर्ने,  टिकट बुकिङ्ग खुला



                     काठमाडौं, भदौ १० । नेपाल वायुसेवा निगमले यही भदौ १२ गते तदनुसार २९ अगष्ट २०२३ देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँलाई ट्रान्जिट बनाएर हङ्गकङ्ग र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ्ग खुला गरेको छ ।

भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको छ । 

उडान तालिका अनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ः०० बजे काठमाडौंमा अवतरण गर्नेछ । तत्पश्चात ट्रान्जिट भइ हङ्गकङ जाने यात्रु हङ्गकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन् । यात्रुको सुविधाको लागि चेक इन गर्दाकै वखत गन्तव्य सम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको छ ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने कार्य तदारुकताका साथ गर्नका लागि श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा  निगम व्यवस्थापनले विशेष पहल गरी उडान शुरु गर्ने निर्णय गरेको छ । 

यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइट http://www.nepalairlines.com.np मा लगइन गरी अनलाइनबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिई सहज रुपमा यात्रा गर्न सक्नु हुनेछ । यसबाट यात्रुहरूलाई थप सुविधा पुग्ने निगमले विश्वास लिएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update