Kath khabar
अमेरिकाबाट आएको 'पार्सल' मा गाँजा र हेरोइन 

 

                 काठमाडौं, भदौ ३१ ।  अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै ल्याइएको ३ किलो २ सय ३९ ग्राम गाँजा र २ सय ६८ दशमलव २ सय १० ग्राम खैरो हेरोइन सहित १० जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा डेलिभरी गर्ने ६ र खैरो हेरोइन सहित ४ गरी १० जनालाई पक्राउ गरेको जानकारी दिएको छ । उनीहरू माथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीको भनाइ छ । पक्राउ परेकाहरूलाई आज आइतवार सार्वजनिक गर्दै प्रहरी उपरीक्षक जोशीले 'पार्सल' मा गाँजा पत्ता लागेपछि उनीहरूलाई पक्राउ गरिएको बताउनुभयो । 

प्रहरीका अनुसार अमेरिकाबाट हुलाक मार्फत डिल्लीबजार हुँदै जिल्ला हुलाक कार्यालय वीरगञ्जमा प्राप्त हुने गरी पठाइएकोमा एउटा कार्टुन शङ्का लागि जाँच गर्दा ९ सय ग्राम गाँजा बरामद गरिएको हो । त्यो कार्टुन पार्सल लिन आउने व्यक्ति खोज्न 'कन्ट्रोल डेलिभरी' गर्दा वीरगञ्जका डल्लुराम र त्यही ठाउँका हविव मियालाई पक्राउ गरिएको थियो ।

अमेरिकाबाट डिल्लीबजार हुलाक मार्फत जिल्ला हुलाक कार्यालय पोखरामा प्राप्त हुने गरी पठाइएको अर्को कार्टुन जाँच गर्दा १ किलो ४ सय ग्राम गाँजा फेला परेको ब्युरोले जनाएको छ । त्यही क्रममा गाँजा लिन आउने भारतीय नागरिक २४ वर्षे अजिन भर्गेसलाई हुलाक कार्यालयबाटै पक्राउ गरिएको थियो । उनको डेराबाट थप ७ सय २० ग्राम गाँजा बरामद गरिएको छ । 

हुलाक मार्फत आएको गाँजा लिन आउने डडेलधुराकी रेनुका तामाङलाई पनि पक्राउ गरिएको छ । उनको बयानका आधारमा गाँजा लिन पठाउने भारतीय नागरिक अरुण कुमार र मोहमद नईमलाई पनि पक्राउ गरिएको हो । उनीहरूको साथबाट ९ सय ३९ ग्राम गाँजा बरामद गरिएको छ । 

ब्युरोले खैरो हेरोइन सहित कञ्चनपुरका हिक्मत हमाल, दाङका सञ्जय नेपाली, मोरङका विनोद भट्टराई र झापा बस्ने भारतीय नागरिक लाल मियालाई पनि पक्राउ गरेको जानकारी दिएको छ । उनीहरूको साथबाट २ सय ६८ ग्राम भन्दा बढी खैरो हेरोइन बरामद भएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update