Kath khabar
थप दाइजो नपुगेको निहुँमा २१ महिना अघि विवाह गरेको श्रीमतीको हत्या

 

                  सुनसरी, असोज २ ।  थप दाइजो नल्याएको निहुँमा २१ महिना अघि विवाह गरेकी श्रीमतीको हत्या गरेको आरोपमा सुनसरीको इनरुवा नगरपालिका-३ का ३२ वर्षीय नागेन्द्र भगत पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-१७ माइति भएकी २३ वर्षीया निकिता चौधरीलाई दाइजोको निहुँमा हत्या गरेको भन्दै माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा प्रहरीलाई भगतलाई पक्राउ गरेको छ ।

भगत माथि श्रीमती निकिताको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप लागेको हो । आफ्नी दिदी माथि दाइजोको नाममा भिनाजु नागेन्द्र सहित उनका परिवारले मानसिक यातना दिंदै आएको र उनीमाथि शनिबार राती करीव साढे ९ बजेतिर धारिलो हतियारले टाउको, अनुहार लगायतका ठाउँमा प्रहार गरी हत्या गरेको मृतक निकिताका भाई राकेश चौधरीले दाबी गरे ।

आफ्नी छोरीलाई नागेन्द्रले थप दाईजो ल्याउन दवाब दिँदै कुटपिट गरी हत्या गरेको माइती पक्षले आरोप लगाए । माइती पक्षले दाइजोको निहुँमा निकिताको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा नागेन्द्र विरुद्ध किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा नागेन्द्रलाई आइतबार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

‘घटना पछि मृतकका आफन्त माइती पक्षले जाहेरी दिनु भएको छ’ उनले भने, ‘जाहेरीका आधारमा हामीले श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेका छौं ।’ निकिताको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पुर्‍याइएको जनाइएको छ । शवको पोष्टमार्टम पछि अनुसन्धान थप अघि बढ्ने प्रवक्ता राईले बताए ।

निकिताले शनिबार दिउँसो देखि नै तिजमा लगाउन ४ हजार रुपैयाँको सारी किनिदिन नागेन्द्रसँग आग्रह गरेकी थिइन् । शनिबार साँझ आमासँग श्रीमान् नागेन्द्रलाई सारी किनदिन आग्रह गरेको र नागेन्द्रले सारी किनिदिनु परे ‘नाम मेटाइदिने’ भन्दै धम्की दिएको कुरा सुनाएकी थिइन् । सारी किन्ने बिषयमा निकिता र नागेन्द्र बीच झगडा भएको खुलेको प्रहरीले जनाएको छ ।

त्यसको केहि बेरमै निकिताले झुण्डीएर आत्महत्या गरेको र बाथरुममा चिप्लिएर लडेर मृत्यू भएको भन्दै विरोधाभाष पूर्ण खबर माइती पक्षलाई नागेन्द्रका आफन्तले पठाएको जनाइएको छ । निकिताका भाई राकेशले अनुसार नागेन्द्रले दिदी निकिता माथि धारिलो हतियार प्रहार गर्नुका साथै घाँटी थिचेर हत्या गरेको आरोप लगाएका छन् । विवाह लगत्तै नागेन्द्रले निकितालाई थप दाइजोका लागि मानसिक यातना दिंदै आएको समेत भाई राकेशले जानकारी दिए ।

मृत्यूको खबर पछि पुगेका आफन्त र माइती पक्षले निकिताको शरीर भरी निलडाम भेटिएको, टाउको र घाँटीमा समेत गहिरो चोट लागेको देखिएको बताए । निकितालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा लगिएकोमा थप उपचारका लागि विराटनगरको विराट टिचिङ हस्पिटल लैजानेका क्रममा निधन भएको जनाइएको छ । 

नागेन्द्रले निकितासँग विवाह हुनु अगावै पहिलो विवाह गरिसकेको खुलेको छ । उनले पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर झुक्याएर निकितासँग दोस्रो विवाह गरेको जनाइएको छ । पहिलो श्रीमतीबाट जन्मिएकी छोरीको समेत मृत्यु भएकोले उक्त मृत्युको घटना पनि शंकास्पद रहेको पीडित परिवारले आरोप लगाए । निकितासँग दोस्रो विवाह गरेका नागेन्द्रलाई माइती पक्षले ३५ लाख नगद, १० तोला सुन र ८० तोला चाँदी दिएको बताएका छन् ।

थप दाइजो माग्दै दिदीको हत्या गरेको भन्दै भाई राकेशले हदैसम्मको कारवाही गर्न माग गरेका छन् । उनीहरुको ११ महिनाको छोरा समेत रहेको जनाइएको छ । माइती पक्षले नाबालक छोराको समेत जिउज्यानको सुरक्षा गरिदिन प्रहरी समक्ष आग्रह गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update