Kath khabar
४८ घण्टा पछि वीरगञ्जको बालसुधार गृहबाट फरार २ जना कैदी पक्राउ

 

                 पर्सा, असोज १५ ।  वीरगञ्जमा रहेको बालसुधार गृहबाट फरार भएका २ बाल कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

बालसुधार गृहको छतबाट गएको शुक्रवार बिहान हामफालेर फरार भएका सप्तरीका पाण्डव यादव र सर्लाहीका अमरकान्त ठाकुरलाई ४८ घण्टापछि हिजो छुट्टाछुटै ठाउँबाट प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई सर्लाहीमा रहेको सीमा नाकाबाट र यादवलाई सिरहामा रहेको सीमा नाकाबाट पक्राउ गरेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दामा ठाकुरलाई र जबरजस्ती करणी मुद्दामा यादवलाई अदालतले दोषी ठहर गर्दै आचरण सुधारका लागि बाल सुधारमा पठाएको थियो । 

फरार भएपछि दुवै बाल कैदी वीरगञ्जको मुख्य भन्सार नाका शङ्कराचार्य गेट अगाडिबाट भारतको रक्सौल तर्फ गएको दृश्य नाकामा जडान गरिएको सीसीटीभीमा रेकर्ड भएको थियो। 

बालसुधार गृहमा ६० जनाको क्षमता भएकामा अहिले दोब्बरभन्दा बढी १२६ जना बालक तथा किशोरहरूलाई कोचेर राखिएको छ । जसका कारण गृहमा रहेका बालक तथा किशोरहरूमा स्वास्थ्य समस्यासँगै गृहलाई व्यवस्थापनमा समेत कठिनाइ भइरहेको बाल सुधार गृहका प्रमुख टीकाकृष्ण काफ्लेले बताउनुभयो । 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update