Kath khabar
डिभीको आवेदन नि:शुल्क यसरी भर्नुहोस्

 

                     काठमाडौं, असोज १८ । अमेरिकाले २०२५ को डाइभर्सिटी भिसा (डिभी) को आवेदन खुला गरेको छ । दूतावासका अनुसार हिजो रातीबाट खुलेको डिभि भर्ने मिति कात्तिक २१ (नोभेम्बर ७) गते राति १०ः४५ बजेसम्म रहनेछ ।

विगतमा डिभी लोटरीमा सहभागी भएकाहरूले पनि यसपटक डिभी भर्न सक्नेछन् । साथै यसपटक पनि  डिभीलोटरीमा सहभागी हुन पासपोर्ट अनिवार्य नभएको दुतावासले जनाएको छ । आवेदन निःशुल्क आफैँले भर्न सकिन्छ । आफैंले आवेदन दिन सकिने भएकाले कन्सल्टेन्टको सहयोग नलिन दूतावासले सुझाव दिएको छ।

डिभी भर्दा विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो प्रयोग नगर्न सुझाव दिइएको छ, प्रयोग गरेमा अयोग्य ठहरिनेछ। फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ । स्मरण रहोस् फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन। डिभी भरिसकेपछि आफ्नो कन्फर्मेशन नम्बरलाई सेभ र प्रिन्ट गर्नुपर्छ । यो नम्बर तपाईँको स्टेटस चेक गर्न प्रयोग हुन्छ ।

डिभी भर्नका लागि कक्षा १२ सम्मको अध्ययन वा तोकिएको कामको अनुभव भएको हुनुपर्छ । डिभीभर्दा पतिपत्नी र २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्न अनिवार्य भएको उल्लेख छ।

आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्न आधिकारिक वेबसाइट http://https://dvprogram.state.gov/ मा गएर निर्देशनअनुसार आवेदन फारम भर्नु पर्नेछ।

यो डिभीको नतिजा सन् २०२४ को मे ४ मा आउनेछ । डिभी सम्बन्धी आवश्यक सम्पूर्ण जानकारी काठमाडौंस्थित अमेरिकी दूतावासको वेबसाइट https://np.usembassy.gov/visas/ वा https://dvprogram.state.gov/ मा गएर हेर्न सकिने छ ।

 

 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update