मोरङ, कात्तिक २२ । सामूहिक बलात्कार अभियोगमा दोषी ठहर भएका कोशीका २ जना कराते प्रशिक्षकलाई अदालतले ८/८ वर्ष कैद र ३/३ लाख रुपैयाँ जरिवाना सजाय निर्धारण गरेको छ।
विराटनगरस्थित एउटा नर्सिङ कलेजकी १९ वर्षीया छात्रा माथि सामूहिक बलात्कार अभियोगमा भदौ देखि पुर्पक्षमा रहेका मोरङका दुवै जनालाई बुधबार मोरङ जिल्ला अदालतले सजाय सुनाएको हो।
न्यायाधीश अम्बिका प्रसाद दाहालको इजलासले प्रशिक्षकद्वय विनोद राउत र सुरज सुवेदीलाई ८ वर्ष कैद र जनही ३/३ लाख रुपैयाँ जरिवाना तोक्ने फैसला गरेको हो।
जबरजस्ती करणी मुद्दामा ७ वर्ष र सामूहिक बलात्कारमा थप १ वर्ष गरी दुवै जनालाई ८ वर्ष कैद सजाय निर्धारण गरिएको मोरङ अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए। बिहीबार मात्रै अदालतले उनीहरूको कसुर ठहर गरेको थियो।
विराटनगर-४ का ५० वर्षीय राउत नेकपा एमाले निकट नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव थिए भने ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन्।
पीडित माथि गएको जेठ महिनामा विराटनगरको मुनाल पथस्थित विराट होटेलमा सुवेदी र राउतले सामूहिक करणी गरेका थिए। त्यसपछि पीडितको अश्लील भिडिओ बनाई उनीमाथि पटक पटक जबरजस्ती हुँदै आएको थियो।
दुवै जनालाई २०७९ भदौ ६ गते मोरङ जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो।