Kath khabar
कारागारबाट छुटेकै दिन ११ लाख पाउने लोभमा वृद्धाको हत्या

 

                धादिङ, मंसिर १९ ।  धादिङमा एक जना वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले ३ जना पुरूषलाई पक्राउ गरेको छ।

त्रिपुरा सुन्दरी गाउँपालिका-६ गोलाङमा बस्ने ६२ वर्षीया मनकुमारी सार्किनीको हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोलाङकै ४० वर्षीय शिवबहादुर बस्याल, ५४ वर्षीय टोपबहादुर सार्की र ४० वर्षीय सुनिल नेपाली छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्र अनुसार गत शुक्रबार बिहान साढे ९ बजे मनकुमारी आफ्नै घरमा मृत फेला परेकी थिइन्। उनी उक्त घरमा आफ्ना श्रीमानसँग बस्दै आएकी थिइन्। श्रीमान प्यारालाइसिसका बिरामी हुन्।

मनकुमारीको मृत्यु सामान्य तरिकाले नै भएको भन्ने अनुमान आफन्त छिमेकीहरूको थियो। उनको मृत्यु भएको भन्ने खबर पाएर घटनास्थलमा खटिए पछि शंका लागेको एसपी मिश्रले बताए। ‘घाँटी र अनुहारमा कोतरेको र थिचेको जस्तो देखिन्थ्यो। त्यसपछि हत्या हुनसक्छ भनेर अनुसन्धान अघि बढायौं,’ एसपी मिश्रले भने।

घटनास्थलमा चुरा फुटेका टुक्रा र पोतेका दानाहरू पनि छरपष्ट थिए। प्रहरीले मृतकका श्रीमानसँग सोधपुछ गर्दा अघिल्लो दिन एक जना पुरूष आएको बताएका थिए। उनी शिवकुमार बस्याल थिए।

उनी गत बिहीबार मात्रै (मंसिर १४ गते) धादिङ जिल्ला कारागारबाट छुटेका थिए। उनी जबरजस्ती करणी उद्योग, चोरी मुद्दामा समेत जेल बसिसकेका थिए। बिहीबार भने २० महिना कैद भुक्तान गरेर छुटेका थिए।

हत्या गरेर भागेको भन्ने खबर पाए पछि प्रहरीले शिवबहादुरको खोजी थालेको थियो। प्रहरीले शुक्रबार उनलाई गोलाङस्थित गोरेटो बाटोमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको एसपी गौतम मिश्रले बताए।

मिश्रका अनुसार शुरूमा शिवबहादुरले घटना स्वीकारेका थिएनन्। तर पछि उनले स्वीकारेका हुन्। उनले आफूले हत्या गर्नुपर्ने कारण नभएको र कसैले पैसा दिने बताएपछि भने हत्या गरेको स्वीकारेका हुन्।

कारागारबाट छुटे पछि बसमा २ घण्टा यात्रा गरेर शिवबहादुर आफ्नो गाउँ पुगेका थिए। त्यहाँ पुगेर उनले जेलबाट छुटेको भन्दै एउटा घरमा रक्सी खाएका थिए। जहाँ उनले टोपबहादुर र सुनिललाई भेटेका थिए। शिवबहादुरले टोपबहादुर र सुनिललाई पहिल्यै चिनेका थिए।

‘सँगै बसेर रक्सी खाए। जेल बसेर आएको मान्छेले हत्या पनि गर्न सक्छ भनेर भनेपछि पैसा दिन्छु ती महिलाको हत्या गर्दे भनेको भनेर बयान दिएको छ,’ एसपी मिश्रले बताए।

हत्या गर्नका लागि ११ लाख रुपैयाँ दिन्छु भनेको पनि शिवबहादुरले प्रहरीसँग भनेका छन्। लोभमा शिवबहादुर मनकुमारीको घर पुगेका थिए। घर पुगेर उनले फेरि मनकुमारीसँग पनि बसेर रक्सी खाएका थिए।

हत्या गर्न टोपबहादुर र सुनिलले लगाएको बताए पछि प्रहरीले उनीहरूलाई पनि पक्राउ गर्‍यो। पक्राउ परेका उनीहरूले भने आफूहरूले हत्या गर्न नलगाएको बताएका छन्।

‘एउटै गाउँले भएकाले उनले त्यहाँ गएर रक्सी खाएका रहेछन्। त्यसपछि मापसे गरी घाँटी थिचेर मारे,’ एसपी मिश्रले भने, ‘अरू २ जनाले किन मार्न लगाए भन्ने खुलेको छैन। उनीहरूले स्वीकारेका छैनन्। तर शिवबहादुर कन्फिडेन्ट छन्।’

शिवबहादुरले ११ लाख रुपैयाँ पाएका भने थिएनन्। उनले १ हजार रुपैयाँ बरामद भएको र त्यो पनि उनीहरूले नै दिएको समेत बताएका छन्। प्रहरीले ३ जनालाई सोमबार सार्वजनिक गरेको हो। उनीहरू माथि थप अनुसन्धान गर्न धादिङ जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update