Kath khabar
हातहतियार सहित ४ जना पक्राउ 


                काठमाडौं, मंसिर २२ ।  काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका-१३ कालिमाटी डेरा गरी बस्ने सर्लाही घर भएका २२ वर्षीय कुशल मल्लिक, ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल डेरा गरी बस्ने काभ्रे धुलिखेल घर भएकी २८ वर्षीया काँजल मल्लिक समेत ४ जनालाई हातहतियार सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

कुशलले हातहतियार बोकी हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-१४ नैकापबाट उनलाई पक्राउ गरेको र थप अनुसन्धानको क्रममा काँजलको कोठामा गितारको कभरमा लुकाई राखेको अवस्थामा मेड ईन युएसए लेखेको टुटु बोरको राईफल १ थान र २  नाले टोटावाल बन्दुक १ थान बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।  

बर्दियाको गुलरिया नगरपालिका-४ रामपुर टापु बस्ने ६५ वर्षीय गोपाल सिंह राना क्षेत्रीलाई भरूवा बन्दुक १ थान सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीको घरमा अवैध हतियार रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई घरमा लुकाई राखेको उक्त बन्दुक सहित पक्राउ गरेको हो । 

पर्वत, मोदी गाउँपालिका-६ गिज्याङस्थित गिज्याङ सामुदायिक वनबाट भरुवा बन्दुक १ थान सहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रशान्त नेपाली र धादिङ घर भएका ३० वर्षीय गर्ज घलेलाई गएराति प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update