Kath khabar
बिरामी बोकेको एम्बुलेन्सबाट २ किलो ८ सय ग्राम लागुऔषध चरेस सहित चालक पक्राउ


                धनगढी, मंसिर २५ ।  बझाङबाट बिरामी लिएर आएको एम्बुलेन्सबाट प्रहरीले लागुऔषध चरेस बरामद गरेको छ। २ किलो ८ सय ग्राम चरेस सहित एम्बुलेन्स चालकलाई धनगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार बझाङको रायल प्राथमिक स्वास्थ्य चौकीको सु.प.प्र. ०१००१ झ ०५४२ नम्बरको एम्बुलेन्स बिरामी बोकेर सोमबार धनगढी आएको थियो।

एम्बुलेन्सबाट २ किलो ८ सय ग्राम चरेस बरामद गर्नुका साथै चालक केदारस्युँ गाउँपालिका-३, बस्ने ३७ वर्षीय रामबहादुर खातीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।

एम्बुलेन्समा चरेस ल्याएको सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले चरेस सहित चालकलाई पक्राउ गरेको उनले बताए।

बिरामीलाई अस्पताल पुर्‍याएपछि धनगढी-४ बाट चरेस सहित एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ। बझाङबाट ल्याइएको उक्त चरेस कसको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए।

सोमबार नै प्रहरीले धनगढी उपमहानगरपालिका-३ त्रिनगर भन्सार नाकाबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ। डोटीको केआइसिंह गाउँपालिका-१ घर भएका २० वर्षीय निश्चल शाही र केआइसिंह-२ घर भएका २१ वर्षीय मनोज रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीहरूको साथबाट १ सय ३० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए। प्रहरीका अनुसार भारतबाट लागुऔषध ल्याएर आउँदै गरेको सूचनाका उनीहरूलाई पक्राउ गरिएको हो। 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update