Kath khabar
१६ वर्षीय किशोरीको ४० वर्षीय पुरुषसँग जबरजस्ती विवाह, आमा सहित पक्राउ परे पाँचजना

 

                  चितवन, पुस ४ । नवलपरासीको कावासोतीमा १६ वर्षीय किशोरीको ४० वर्षीय पुरुषसँग जबरजस्ती विवाह गराइदिने आमासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरीकी आमाले मंसिर २९ गते सानीमाको घर लगेर १६ वर्षकी छोरीलाई विवाह नगर्ने भए आफू झुण्डेर मर्ने भन्दै विवाह गर्न दबाब दिएकी थिइन् ।

किशोरीको भाउजूले दिएको उजुरीको आधारमा छोरीलाई दबाब दिएर विवाह गराउने आमा, विवाह गर्ने पुरुषसहित दुईजना सानीमा र एक जना सानोबुबालाई पनि जिल्ला प्रहरी कार्यालय नवलपुरले समातेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुर प्रहरी निरीक्षक साजनकुमार शर्माका अनुसार आमा र दुई सानीमा सानोबाको दबाबका कारण किशोरी विवाहको लागि राजी भएकी थिइन् । आफ्नो घर नै नलगी कावासोतीमै रहेको सानीमाको घरबाट छोरीको टिकोटालो गरेर विवाह गराइदिएर आमा घर फर्किएकी थिइन् । ४० वर्षका पुरुषले बालिकासँग दोस्रो विवाह गरेका हुन् ।

सानीमाको घर गएकी नन्द घर नफर्किएपछि सोधी खोजी गर्दा ४० वर्षको पुरुषसँग विवाह गरिदिएको थाहा पाएपछि भाउजूले प्रहरीमा जाहेरी दिएकी इन्स्पेक्टर शर्माले जानकारी दिए । सोही जाहेरीका आधारमा प्रहरीले हिजो मङ्गलवार आमासहित बालिका विवाहमा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएको हो ।

उनलाई नियन्त्रणमा लिएपछि किशोरीलाई भाउजूको संरक्षणमा पठाइएको प्रहरीले जानकारी दिएको छ । १६ वर्षकी किशोरी ७ कक्षा पढेर छोडेकी थिइन् । १२ वर्षअघि नै उनको बाबुको मृत्यु भएको, परिवारमा दुई दाइ, भाउजू र आमा रहेका छन् । तर, दुई दाइ भने वैदेशिक रोजगारीमा रहेका जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update