Kath khabar
सशत्रद्धारा बिभिन्न क्षेत्रबाट करिब १२ लाख रुपैयाँ बराबरको मोबाइलको सामान बरामद



                    काठमाडौं, पुस ४ । रौतहटको बारा, धनुषाबाट करिव ३२ लाखको लत्ताकपडा र मोटरसाइकल तथा पश्चिम नवलपरासीबाट करिब १२ लाख रुपैयाँ बराबरको मोबाइलमा प्रयोग हुने सामान सशस्त्र प्रहरीले पौष ३ गते मंगलबार बरामद गरेको छ ।

रौतहट जिल्लाको बौधिमाई नगरपालिका ७ स्थित बारा– रौतहट जिल्लाको सीमा इलाकाबाट पौष ०४ गते करिब १५ लाख १६ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको हो । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहट, सुरक्षा बेश लक्ष्मीनियाँ, फतुवा र बिओपी सरमजुवाको टोलीले सोही ईलाकास्थित अरुवाखोला पुल नजिकैको टहरामा बेवारिसे अवस्थामा रहेको उल्लेखित मूल्यको लत्ताकपडा बरामद गरेको हो ।

त्यसैगरी बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ११ औरैया स्थित सीमा इलाकाबाट पौष ०४ गते करिब १५ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको छ । एक कच्ची घरमा लुकाई छिपाई राखेको ५ पोका लत्ताकपडा विशेष सूचनाको आधारमा बिओपी गोलागंजले बरामद गरेको हो । यसैगरी नम्बर ८ गण धनुषाले पौष ०४ गते नै करीब १ लाख २ हजार रुपैयाँ बराबरको लत्ताकपडा र ४ लाख ५० हजार रुपैयाँ बराबरको तीनवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

ज १० प २२८९, ज ८ प ५३८९ र बिआर ०१ एफए ६९७२ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा  र मोटरसाइकल धनुषा जिल्लाको धनौजी गाउँपालिका ५ स्थित बहुअर्वा इलाकाबाट नियन्त्रणमा लिइएको हो । यसैगरी पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका ५ स्थित गेरमा इलाकाबाट पौष ०४ गते करिब ११ लाख ६९ हजार रुपैयाँ बराबरको मोबाइलका ग्लासहरु बरामद भएको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याई सोही गाउँपालिका ५ स्थित एक घरमा लुकाई छिपाई राखेको अवस्थामा मोबाइलमा प्रयोग हुने १६ हजार ७०० वटा टेम्पर ग्लास प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुर र सुरक्षा बेश परासीको संयुक्त टोलीले बरामद गरेको हो । नियन्त्रणमा लिइएका मोटरसाइकल तथा सामान आवश्यक कारवाहीको लागी स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update