Kath khabar
घर भाडामा लिएर अवैध मदिरा कारखाना सञ्चालन गर्ने नौ जना काठमाडौंको थलीबाट पक्राउ

 

                  काठमाडौं, माघ ३ ।  काठमाडौंको मनोहरा नगरपालिका थलीमा एक घर भाडामा लिएर अवैध मदिरा कारखाना सञ्चालन गरिएको पाइएको छ । प्रहरीले अवैध गतिविधिमा संलग्न ९ जनालाई पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्वदेशी र विदेशी ब्रान्डका नक्कली रक्सी बनाउने कारखाना फेला पारेको हो । कारखानामा विभिन्न स्वदेशी तथा विदेशी ब्रान्डका मदिरा नक्कली रूपमा उत्पादन भइरहेका थिए । 

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ थलीस्थित भरत थापाको २ तले पक्की घर भाडामा लिएर विनोद कुमार कार्कीले मदिरा कारखाना चलाइरहेका थिए । प्रहरीले विशेष सूचना पाए पछि बुधबार छापा हान्दा ठूलो परिमाणमा मदिरा बनाउन, प्याकिङ गर्न, लेबलिङ गर्न प्रयोग गरिने सामानहरू फेला परे । 

प्रहरीका अनुसार सो क्रममा नक्कली खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक मदिरा फेला पारेको छ । यस्तै, मदिरा बनाउन प्रयोग गरिने सामानहरू, सगुन ब्रान्डका मदिरा पदार्थ, चिनी पानी मिश्रित तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजस्व विभागको अन्तःशुल्कको स्टिकरहरू, लेबलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरू लगायत अन्य विभिन्न सामग्री फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीले विनोद कार्की समेत ९ जनालाई पक्राउ गरी अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्वर बस्ने रामेछाप खाँडादेबी गाउँपालिका–२ घर भएका ३६ वर्षीय बिनोद कुमार कार्की र  सिन्धुली कमलामाई नगरपालिका–७ घर भएका ४० वर्षीय लेख बिक्रम थापा तथा काठमाडौं मूलपानी बस्नेहरू रामेछाप खाँडादेबी गाउँपालिका–२ घर भएका २८ वर्षीय मनोज खत्री, रामेछाप मजुवा गाउँपालिका–३ घर भएका २३ वर्षीय महेश खत्री, रामेछाप खाँडादेबी गाउँपालिका–२  घर भएका २० वर्षीय मनिष खत्री, सिन्धुली कमलामाई नगरपालिका–९ घर भएका २८ वर्षीय गौरव तामाङ, सिन्धुपाल्चोक चौतारा नगरपालिका–३ घर भएका २७ वर्षीय मोहन खड्का, सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भएका १८ वर्षीय किशोर र काठमाडौं कागेश्वरी मनोहरा–६ घर भएका ३५ वर्षीय सुमन नगरकोटी रहेका छन् । 

उनीहरूले स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहिन नक्कली मदिराहरू बनाई कालो बजारी गर्ने गरेको, आन्तरिक राजश्वको अन्त शुल्कका नक्कली स्टिकरहरु प्रयोग गर्ने गरेको, नक्कली मदिरा संचालकहरूले उक्त स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहित नक्कली मदिराहरू प्रचलित बजार दरभाउ भन्दा कम मूल्यमा बेचविखन गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update