Kath khabar
मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ


                  काठमाडौं, माघ ५ । मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी धादिङ मेत्रावती गाउँपालिका–२ स्थायी वतन भएका ५७ वर्षीय वीर बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पीडितलाई ब्रुनाई पठाइदिने भन्दै झुक्याई २०४७ चैत ३ गते काठमाडौंबाट काँकडभिट्टा हुँदै पश्चिम बङ्गालको बागडोग्रा भन्ने स्थानमा पुर्‍याई भारतीय नागरिकलाई बेचबिखन गरेको कसूरमा संलग्न रही फरार रहेका उनलाई मानव बेचबिखन अनुसन्धान व्यरो बबरमहलबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका–१४ तिखेदेवलबाट पक्राउ गरेको हो ।  

उनले पीडितको श्रीमान ब्रुनाईमा रोजगारीमा रहेको बेलामा श्रीमानले ब्रुनाई ल्याइदिनु भनि मलाई चिठ्ठी पठाएका छन् भनी झुक्याई काठमाडौंबाट काकरभिट्टा हुँदै भारतको पश्चिम बंगालस्थित बागडोग्रा भन्ने शहरमा पुर्याइ अनजान व्यक्तिको घरमा अपरिचित भारतीय नागरिकहरूको जिम्मामा छोडी गएको, भारतीय नागरिकहरुबाट भारतीय रुपैयाँ १० हजार लिई पीडितलाई बेचबिखन गरेको र भारतीय नागरिकहरूले पीडितलाई रिक्सामा राखी लैजाने क्रममा पीडित रिक्साबाट हाम फाली भारतीय प्रहरीको सम्पर्कमा गएपश्चात् उनीहरुले काँकडभिट्टा ल्याई छोडिदिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्नुका साथै प्रहरीले उनी उपर जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update