Kath khabar
दाङमा प्रहरी जवानले गरे श्रीमती र साढे दुई वर्षीय छोराको हत्या


                      दाङ, माघ २१ । दाङमा एक प्रहरी जवानले श्रीमती र साढे दुई वर्षीय छोराको हत्या गरेका छन् । हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय घोराही दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली पक्राउ परेका छन् ।

नेपालीले २२ वर्षीय श्रीमती टीका विक र साढे दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।​ हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएको उनले बताए ।

उनी नेपालगन्जबाट श्रीमती आएकी छिन् भनेर बिदा मागी घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं १ मा बास बसेका थिए । आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

रोल्पाको रुन्टीगढी गाउँपालिका–९ घर भएका नेपाली दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update