Kath khabar
बाटो सहज नहुँदा दाङकाे चमेरे गुफा ओझेलमा


                   दाङ, चैत २० । तुलसीपुर उपमहानगरपालिका-४ मुलकोटमा अवस्थित सिद्ध चमेरे गुफा  प्रचारप्रसारकाे अभावमा  ओझेलमा परेको छ । गुफासम्म पुग्नका लागि मोटर बाटो सहज नभएकाे र प्रवर्द्धन नहुँदा पर्यटककाे उल्लेख्य उपस्थिति नभएकाे स्थानीयकाे भनाइ छ ।
 
गुफा करिब साढे दुई दशकपहिले पत्ता लागेको थियाे । गुफा चारैतिर जङ्गलले घेरिएकाे छ ।  पहाडको फेदमा रहेको गुफाकाे चारैतिर रहेकाे  स्वच्छ र हरियाली जङ्गलकाे मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । तर गुफासम्म पुग्नका लागि पर्यटक पैदल हिँडेर जानुपर्ने बाध्यता छ ।

चमेरे गुफासम्म पुग्नका लागि सामान्य कच्ची बाटो पुगेता पनि पर्याप्त रुपमा त्यसको विकास हुन सकेकाे छैन ।  साेही वडाकी ४५ वर्षीया भावना गौतमले चमेरे गुफाको विकासमा स्थानीय सरकारले ध्यान नदिँदा अहिले सो क्षेत्रमा आउने  आन्तरिक पर्यटकको सङ्ख्या न्यून  रहेको बताउनुभयो । उहाँले  यसको विकासमा ध्यान दिन सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने र त्यसले गाउँको मुहार फेरिने बताउनुभयो ।

तुलसीपुर बजारदेखि करिब १२ किलोमिटरको दूरीमा रहेको यस गुफाको प्रचारप्रसार र संवर्द्धन गर्न सके पर्यटकीयस्थलका रुपमा विकास गर्ने सकिने यहाँका जानकारको बुझाइ छ । प्राकृतिरुप निर्मित गुफाको संरक्षण र यसलाई दिगो विकास गर्ने सके दाङको मुख्य पर्यटकीय क्षेत्रका रुपमा विकास हुने अपेक्षा गरिएकाे छ ।

हाल गुफामा दैनिक रुपमा ३० देखि ४० सम्म सर्वसाधारण अवलोकनका लागि आउने गरेका छन् । तीन तला रहेको उक्त गुफासम्म पुग्नका लागि यसअघि साबिकको जिल्ला विकास समिति दाङ, तुलसीपुर उपमहानगरपालिका, स्थानीय सामुदायिक वन र पर्यटन विकास कार्यालय भैरहवाको आर्थिक सहयोग तथा स्थानीयको सक्रियतामा कच्ची बाटो, यात्रु प्रतीक्षालय, चमेना गृह तथा अन्य केही संरचना निर्माण भएकाे थियाे ।

गुफाभित्र विभिन्न देवीदेवता, शेषनाग र बाघको स्वरुप पनि देखिने भएकाले गुफाको अवलोकन गर्ने जो कोही पनि चकित पर्ने गर्दछन् । गुफाको बाहिरी भाग र भित्री भागमा ती स्वरुप देख्न सकिन्छ । गुफामा विभिन्न तीन तह रहेका छन् । प्रत्येक तहका भित्तामा विभिन्न स्वरुप देख्न पाइन्छ ।
 
बाहिरबाट हेर्दा पहाड र त्यसभित्र अवस्थित चमेरे गुफामा चमेरा बस्ने भएका कारण यसको नाम चमेरे गुफा रहन गएको जानकार बताउँछन् । विसं २०५२ मा पता लागेको भए पनि गुफा कसले र कसरी पता लगायो भन्नेबारे सबै अनभिज्ञ  छन् । जानकारहरु भने गाउँले घाँस काट्न जाँदा गुफा पत्ता लागेको  बताउँछन् ।

गुफासम्म पुग्न बाटोमा सिँढी निर्माण गरिएको छ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यान सडकखण्डको हर्नेटीसम्म पक्की छ । हर्नेटीबाट भने गुुफासम्म पुग्न चार किलोमिटर कच्ची तथा साँघुरो सडक हुँदा बर्सातको समयमा यातायातका साधन चल्न नसके पनि हिउँदको समयमा साना सवारी साधन जाने गरेकाले  पर्यटकहरुको सङ्ख्यामा कमी आएको स्थानीय बताउँछन् । यसको विकास भए दाङको पनि विकास हुने भन्दै स्थानीय सरोकारवाला निकायलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सहयोग गर्नुपर्ने बताउँछन् ।

सिद्ध चेमेरे गुफा संरक्षण समितिका अध्यक्ष भूपबहादुर पुनले गुफासम्म पुग्ने चार किलोमिटर बाटो साँघुरो र कच्ची हुँदा अवलोकन गर्ने आउने पर्यटकलाई कठिनाइ हुने गरेको बताउनुभयो । कतिपय पर्यटक पैदल हिँड्नु परेपछि बीचै बाटोबाट फर्कनुले अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको उहाँकाे भनाइ छ । उहाँले भन्नुभयो, “केही दिनअघि बर्दियाबाट बसमा आएको एक टोली बाटो साँघुरो भएकाले  हर्नेटीबाट फर्केको छ ।”  चमेरे गुफासम्म पुग्ने बाटो निर्माण गर्नका लागि बजेटको व्यवस्था गरिदिन पटकपटक लुम्बिनी प्रदेश सरकार तथा उपमहानगरपालिकामा ध्यानाकर्षण  गराउँदा कुनै सुनुवाइ नभएको अध्यक्ष पुनले बताउनुभयाे ।  

चमेरे गुफालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्नका लागि गुफाभित्र बिजुली र गुफा  बाहिर प्रतीक्षालय, शौचालय, चमेना गृह पनि निर्माण गरिए पनि मुख्य बाटो सहज नहुँदा सास्ती हुने गरेको छ । हाल संरक्षण समितिले चमेरे गुफा अवलोकनका लागि प्रतिव्यक्ति रु २० लिने गरको छ । त्यसबाट सङ्कलित रकम गुफाको विकासमा लगाइँदै आएको छ । 

वडा नं ४ का वडाध्यक्ष तुलसी थापा मगरले चमेरे गुफा संरक्षण र संवर्द्धनका लागि आफूले पनि पहल गरिरहेको बताउनुभयो । “चमेरे गुफालाई यस वडाको गहनाका रुपमा लिएका छौँ, यसलाई पर्यटकीय गन्तव्य बनाउने योजना रहेको छ । तर बजेट अभावका कारण पक्की बाटो निर्माण गर्न सकेका छैनौँ”, वडाध्यक्ष  थापाले भन्नुभयो । उहाँले उपमहानगरपालिका, प्रदेश सरकार तथा केन्द्रीय सरकारसँग बाटो निर्माणका लागि बजेट माग गरिरहेको जानकारी दिनुभयो । उपमहानगरपालिकाले भने यस वर्ष चमेरे गुफाका लागि कुनै बजेट विनियोजन गरेको छैन । सन् २०११ मा  स्थानीयको सहयोगमा चमेरे गुफामा महोत्सव पनि आयोजना गरिएको थियो । महाेत्सवमा पर्यटककाे उल्लेख्य उपस्थिति थियाे । (रासस)

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update