Kath khabar
दुवई पुर्याई मानवबेचबिखन गरेको अभियोगमा पक्राउ


                          काठमाडौं, वैशाख १४ । क्यानडा पठाइदिन्छु भनी दुबई पुर्याइ मानवबेचबिखन गरेको अभियोगमा बारा सिम्रौनगढ नगरपालिका–३ ठेगाना भई काठमाडौं नागार्जुन नगरपालिका–१ बस्ने फिरोज खान भन्ने २६ वर्षीय फरमान हवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

टिकटकको माध्यमबाट चिनजान भएका हवारीले धेरै मानिसहरूलाई क्यानडा पठाइसकेको भनी प्रलोभन देखाउँदै पीडितलाई दुबई पुर्याइ बन्धक बनाई राखेको अवस्थामा पीडितको आफन्तको सहयोगमा नेपाल फिर्ता हुन सफल भएका थिए । घटनामा संलग्न रही फरार रहेका हवारीलाई मानवबेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनसँगको समन्वयमा काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

हवारीले क्यानडा जानको लागि ३० लाख रुपैयाँ लाग्ने बताएको, पीडितलाई बिहे गर्ने सम्म प्रलोभन देखाई नेपालमै पटक पटक यौन शोषण गरेको र विभिन्न समयमा ११ लाख २८ हजार रुपैयाँ रकम समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update