काठमाडौं, भदौ १५ । नेपाल राष्ट्र बैंकले दसैंका लागि सुकिला नोट उपलब्ध गराउने भएको छ । आइतबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटही गरिने व्यवस्था गरिएको जानकारी दिएको छ ।
गत वर्षबाट दशैंमा नयाँ नोट नभइ सुकिला नोट दिन सुरु गरेको राष्ट्र बैंकले यो पटक पनि दशैंलाई लक्षित गर्दै सुकिला नोट वितरण गर्ने भएको हो । दशैंका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध हुने नेपाल राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ।
यस्तै, राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूमा पनि सर्वसाधारण लगायत विभिन्न संघ संस्थालाई नोट सटही गर्ने सुविधा दिइएको राष्ट्र बैंकले जनाएको छ।