Kath Khabar
नेप्सेमा तीन पटक तेस्रो नेगेटिभ सर्किट, कारोबार स्थगित

                       काठमाडौं, असोज २ । सेयर बजारमा तेस्रो पटक नेगेटिभ सर्किट ब्रेक लागेको छ । तेस्रो सर्किट ब्रेक लागेसँगै आजको दिनभरको कारोबार बन्द भएको छ । खुलेको २ मिनेटमै ४ प्रतिशतले  घटेपछि सेयर कारोबार २० मिनेटका लागि स्थगित गरिएको थियो ।

त्यसपछि खुलेको नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि दोस्रो सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको थियो । तेस्रो पटक खुलेको बजारमा  (१२ बजेर ६ मिनेट) जाँदा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि आजको कारोबार बन्द भएको हो ।

आज प्रि ओपन सेसनमा नेप्से परिसूचक उच्च अंकले घटेको थियो । कारोबार सुरू भएको पहिलो एक घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ । सर्किट ब्रेक लागेमा २० मिनेटका कारोबार बन्द हुन्छ । त्यसपछि दोस्रो घण्टामा नेप्से परिसूचक ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र त्यसपछि ६ प्रतिशतले घटे वा बढेमा दिनभरका लागि कारोबार बन्द हुने व्यवस्था छ ।

पहिलो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०७.०४ अंकले घटेर २५६५.२१ विन्दुमा पुगेको थियो । दोस्रो सर्किट लाग्दा  नेप्से परिसूचक १३३.६१ अंकले घटेर २५३८.६३ विन्दुमा र  तेस्रो सर्किट लाग्दा १६०.३३ अंकले घटेर २५११.९१ विन्दुमा झरेको छ ।

 

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update