
काठमाडौं, कात्तिक ३ । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजा गरिंदै छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने परम्परा छ ।
कुकुर तिहार यमपञ्चक पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
हिन्दू धर्मावलम्बी सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइ मीठा–मीठा खानेकुरा खान दिई कुकुरको पूजा गरिँदै छ । यस दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा आझा गरिन्छ ।
कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधी पत्ता लगाउने गर्छ । कुकुरलाई भैरवको बहान पनि भनिन्छ । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।
यसैबीच तिथीको घटबढका कारण आजै देशैभर दीपावलीका साथ धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरिँदैछ । बिहानैदेखि घर आगन सरसफाई तथा लिपपोत गरेका गृहणीहरुले उपवास बसी साँझ महालक्ष्मीको पूजा गर्ने गर्दछन् । मूलद्वारदेखि पूजाकोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।
गृहिणीहरु साँझ दिपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन् ।
लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानी छोरीको पनि पूजा गर्ने चलन पनि छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अरु चल अचल सम्पत्ति बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास छ । लक्ष्मी पूजापछि आज रातभर पूजाकोठा, घर आगन र टोलमा वत्ति बाल्ने गरिन्छ ।
सुखरात्रीको रुपमा चिनिने आजराति जुन घर उज्यालोले झकिझकाउ छ सोही घरमा लक्ष्मी प्रवेश गर्ने मान्यता रहेको छ ।
नरक चतुर्दशी
प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघि नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज मनाइँदैछ ।
स्नानपछि सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने कार्य पनि आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्छन् । यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ । बोलीचालीको भाषामा नरके नुहाएर बगाउने नामले समेत यो पर्व चिनिने गरेको छ ।