Kath Khabar
यमपञ्चकको पाँचौं दिन आज गाई गोरु, गोवद्र्धन पूजा गरिँदै

                    काठमाडौं, कात्तिक ५ । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज गाईको पूजाआजा गरीदैछ। सनातन कालदेखि चलिआएको विधि अनुसार गाईलाई पवित्र मानि गाईको पूजा गरी  मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।

आजै गोरु र कृषकको पूजाआजा पनि गरिंदैछ। वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ।

गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ। यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषिकर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाइन्छ। यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ।

नेपाल लगायत विश्वभरि कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । भगवान श्री कृष्णसँग आजकै दिन ईन्द्रले आफ्नो क्रोधयूक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ ।

आजको दिन, श्री कृष्णले आफ्नो औंलाले उठाएको त्यही गोवर्द्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोवर्द्धन पर्वतको पूजाआजा गर्दा गाईवस्तुको गोबरलाई नै गोवर्धन पर्वतको प्रतिकका रुपमा पूज्ने चलन रहिआएको छ ।

यस्तै आजबाट नेपाल सम्वत् ११४६ सुरु भएको छ । आज देशभर विविध कार्यक्रम आयोजना गरी नेवार समुदायले नयाँ वर्षका रुपमा नेपाल ११४६ मनाउदैछन् ।

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update