Kath khabar
विभिन्न योजनाका लागि  पाँच करोड माग

दमौली, मंसिर २८ । तनहुँको भिमाद नगरपालिकामा  पाँच करोड रुपैयाँका योजना माग गरिएको छ । नेकपा (एकीकृत समाजवादी) भिमाद नगर कमिटीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई सोमबार मागपत्र बुझाउँदै विभिन्न योजनाका लागि बजेट बिनियोजन गर्न आग्रह गरेको हो ।

नगर कमिटीका अध्यक्ष काजीमान श्रेष्ठले विभिन्न दश योजनाका लागि सङ्घीय सरकारबाट बजेट विनियोजन गरिदिन मन्त्री श्रेष्ठसमक्ष आग्रह गर्नुभयो । उहाँले सडकका ६, खानेपानीका दुई, बाँध निर्माण र पहिरो नियन्त्रणका एक÷एक योजनामा बजेट विनियोजन गर्न माग गरिएको जानकारी दिनुभयो । भिमाद नगरपालिकाअन्तर्गत भिमाद भागर मोटरमार्ग स्तरोन्नति, बगैँचा पोखरीडाँडा सडक ढलान, दैकेडाँडा खानापानी आयोजनालगायतका योजनाका लागि बजेट माग गरिएको छ ।

मन्त्री श्रेष्ठले समाजवादी पार्टीको सङ्गठन मजबुत बनाउनका लागि पनि अन्तर मन्त्रालयसँग समन्वय गरेर बजेट विनियोजन गराउने प्रतिबद्धता जनाउनुभयो । उहाँले समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update