Kath khabar
वायुसेवालाई साउदी अरेबियाको उडान अनुमति

काठमाडौं, फागुन २३। नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ ।

नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स् रियादले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको पहलमा सो उडान अनुमति प्राप्त भएको हो । यसका लागि मन्त्री आलेको निर्देशनमा केही समयअघिदेखि पत्राचार एवं सम्पर्क भएको थियो ।  

उक्त क्षेत्रको उडान अनुमति लिनका लागि निगमका कार्यकारी अध्यक्षसहितका कर्मचारीहरु साउदी अरेबिया पुगेर उडान अनुमतिको प्रक्रियाको थालनी गर्नुभएको थियो । निगमले चैतदेखि पहिलो चरणमा काठमाडौँ-रियाद-काठमाडौँ सातामा तीन दिन उडान गर्ने जानकारी गराएको छ ।

यसअघि साउदीमा हिमालय एयरलायन्सले दमाम र रियादमा नियमित उडान गर्दै आइरहेको छ । साउदी अरबले यसअघि निगमलाई सन् २००२ र सन् २०२० मा पनि उडान अनुमति दिएको थियो तर जहाज अभाव र कमजोर व्यवस्थापनका कारण निगम साउदी जान सकिरहेको थिएन ।

निगम साउदी नगएकै कारण त्यसताका गल्फ एयरले नेपाली कामदारलाई बहराइन हुँदै साउदी अरेबिया ल्याउने÷लैजाने गर्न थालेको हो ।

(रासस)

 

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update