Kath khabar
हिमालय एयरलाइन्सद्वारा चीनको छिङदाओमा कूटनीतिक चार्टर उडान सञ्चालन



        काठमाडौं, साउन २५ । हिमालय एयरलाइन्सले चीनको छिङदाओमा कूटनीतिक चार्टर उडान सञ्चालन गरेको छ । एयरलायन्सका अनुसार परराष्ट्र मन्त्रालयको विशेष अनुरोधमा, हिमालय एअरलाइन्सले परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक भ्रमणका लागि साउन २४, २०७९ ग चीनको छिङदाओ (सिङ्ताओ) जाने एक विशेष कूटनीतिक चार्टर उडान सञ्चालन गर्ने विशेषाधिकार प्राप्त गरेको थियो ।

परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको ११ सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालयको एअरबस ए३१९, ९एन एजेकेको उडान नं. एच९ ७२२० ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो राति ११.०७ बजे (स्थानीय समय) मा प्रस्थान गरिएको  थियोे र छिङदाओ लिउटिङ अन्तर्राष्ट्रिय विमानस्थलमा (आज बिहान७.५५ बजे (स्थानीय समय) मा अवतरण गरिएको छ ।

छिङदाओको दुईदिने औपचारिक भ्रमणपछि साउन २६, २०७९ मा अपरान्ह ३.०० बजे (स्थानीय समय) प्रस्थान गर्ने उडान एच ९, ७२२१ मार्फत प्रतिनिधिमण्डलका सदस्यहरु फर्किने छन् र सोही दिन अपरान्ह ४.५० मा (स्थानीय समय) काठमाडौं आईपुग्ने अपेक्षा गरिएको छ ।  सन् २०२० मा फैलिएको कोभिड-१९ को महामारीका कारण नेपाल र चीनबीचको हवाई यात्रा दुबै देशले लागू गरेका विभिन्न यात्रा प्रतिबन्ध पश्चात ठप्प भएको थियो । यद्यपि, महामारी नियन्त्रण भएर जनजीवन सामान्यतातर्फ फर्किएपछि, हिमालयले मे ३१, २०२२ बाट चीनको कुनमिङ जाने आफ्नो निर्धारित उडान तालिका सञ्चालन गर्दै साप्ताहिक रुपमा एउटा उडानका साथ सेवा सुरु गरेको थियो ।  

काठमाडौंबाट छिङदाओका लागि सीधा उडान तालिका नभएकाले एयरलाइन्सले आवश्यक सबै अनुमति लिएर यो विशेष चार्टर उडान सञ्चालन गरेको हो ।


 

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update