Kath khabar
अझ राम्री हुन आँखाको कस्मेटिक सर्जरी गर्दै करिश्मा




            काठमाडौं, भदौ १९ । नेपालमै अन्तराष्ट्रिय स्तरको आई कस्मेटिक सर्जरी सेवा उपलब्ध भएकाले अभिनेत्री करिश्मा मानन्धरले आफ्नो आँखाको तल्लो र माथिल्लो भागको कस्मेटिक सर्जरी गर्ने बताउनुभएको छ ।

ललितपुरको कुपण्डोलमा रहेको नेशनल आई एन्ड कस्मेटिक सर्जरी सेन्टरको सातौँ वार्षिक उत्सवमा बिहीबार प्रमुख अतिथि भएर पुग्नु भएकी अभिनेत्री करिश्माले त्यहाँ आफ्नो आँखाको कस्मेटिक सर्जरी गर्ने बताउनुभएको हो । ‘आँखाको तलको भाग झोलिएको र माथिल्लो भागमा पनि केही समस्या देखिएकाले कस्मेटिक सर्जरी गर्ने योजनामा थिएँ ।

बैंककमा गर्नुपर्ने सर्जरी त्यो भन्दा धेरै सस्तोमा यहीँ हुने भएपछि मैले नेशनल आई एन्ड कस्मेटिक सर्जरी सेन्टरमा आँखाको कस्मेटिक सर्जरी गर्ने निर्णय लिएँ ।’ अभिनेत्री करिश्माले सातौँ वार्षिक उत्सव समारोहको उद्घाटन गर्दै भन्नुभयो, ‘कस्मेटिक सर्जरीबाट आँखाको सुन्दरतासँगै मुहार नै सुन्दर देखिने भएपछि हामी कलाकारहरूलाई यो प्रविधि अझ उपयुक्त हुने भएको छ ।’ स्वदेशमै यो सेवा उपलब्ध हुनुले आफूहरूले अझ सजिलो भएको पनि उहाँले बताउनुभयो ।

विगत सात वर्षदेखि आँखा सम्बन्धी सबै समस्या र आँखा सहित अन्तराष्ट्रिय गुणस्तरको कस्मेटिक सर्जरी आफूहरूले गर्दै आएको सो सेन्टरकी अध्यक्ष एवम् डा. पुजा राजभण्डारीले बताउनुभयो । आफूहरूले प्रदान गर्ने सेवा बारे उहाँले भन्नुभयो, ‘आँखाबाट निरन्तर आँशु वा पिप बग्ने समस्याको उपचार गर्ने, आँखाको वरिपरिको बोसो, मुसा, मासुको डल्ला, ट्युमर हटाउने, आँखाको झिल्ली बाहिर भित्र फर्केको उपचार गर्ने, आँखाको ढकनी तल झरेको उपचार गर्ने, आँखाको मुन्द्री बनाउने, मंगोलियन आईलिड सर्जरी गर्ने जस्ता सेवा हामीले दिएका छौं । यस्तै आँखाको बोसो हटाउने, आइब्रो लिफ्टिङ गर्ने, गाला लिफ्टिङ गर्ने, अनुहारको चाउरीपना हटाउने, रोगका कारण आँखा साना ठूला भएकाहरूको उपचार कस्मेटिक आई सर्जरीबाट गर्ने सेवा पनि हामीले दिएका छौं ।’

सो क्रममा सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले आफूहरूले विदेशमा दिने आँखाको कस्मेटिक सर्जरी सम्बन्धी सबै सेवा दिएकाले यो सेवाको लागि नेपालहरु विदेश जाने क्रम निकै कम भएको बताउनुभयो । ‘बैंकक पुगेर यही सेवाको लागि जति खर्च लाग्छ, त्यसको एक चौथाई खर्चमा हामी यहाँ आई कस्मेटिक सर्जरी गर्छौ । रमाइलो कुरा के भने, हाम्रै डाक्टरहरूले बैंकक गएर यस्तो सर्जरी गर्ने भएकाले त्यो सुविधा निकै सस्तोमा यही गर्न पाइएको छ ।’

कस्मेटिक सर्जरीसँगै आँखा सम्बन्धी सबै प्रकारको समस्याको उपचार गर्ने भएकाले नेशनल आई एन्ड कस्मेटिक सर्जरी सेन्टर प्रति आँखाका यस्ता समस्या भएकाहरूको उपस्थिति राम्रो हुँदै आएको पनि कक्षपतिले बताउनुभयो ।


 

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update