Kath khabar
बुङमती घुम्न सघाउने मोबाइल एप

 

             काठमाडौं, भदौ २१ । ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको पुरानो बस्ती बुङमती घुम्न सघाउने मोबाइल एप तयार भएको छ । ललितपुर वडा नम्बर २२ मा पर्ने पुरानो बस्ती बुङमती घुम्ने पर्यटकको सहजताका लागि पर्य-सम्पदा परियोजना अन्तर्गत बुङमती नामक एप तयार गरिएको हो ।

एपमा बुङमतीभित्रका ४० भन्दा बढी मूर्त सम्पदाबारे जानकारी उपलब्ध छ। जसले आन्तरिक तथा बाह्य पर्यटकलाई पुरानो सम्पदा बस्ती बुझ्न र घुम्न सजिलो बनाउने अपेक्षा गरिएको छ । यो सम्पदा बस्तीले प्रविधि अपनाएर सुरु गरेको नयाँ प्रयास हो । बुङमती, काठमाडौं उपत्यकाको पुराना सम्पदा बस्तीहरू मध्ये एक हो । जसलाई सरकारले सम्पदा बस्ती घोषणा गरेको छ । यहाँ मच्छिन्द्रनाथ, कार्यविनायक, भैरव, मनकामना जस्ता धार्मिक महत्व बोकेका मन्दिरहरू छन् । परम्परा र रीतिरिवाजहरुले पनि भरिपूर्ण बस्ती भएकाले बुङमती पर्यटकको रोजाइमा पर्ने गर्छ।

काठमाडौंबाट छोटो दूरीमा अवस्थित रहेको पुरानो सम्पदा बस्ती भएकाले आन्तरिक पर्यटकहरू समेत फुर्सदमा बुङमती पुग्ने गर्छन् । यसरी बुङमती घुम्न आउने पर्यटकलाई यहाँका धार्मिक तथा सांस्कृतिक महत्व बोकेका सम्पदाबारे जानकारी दिन मोबाइल एप्लिकेशन तयार पारिएको पर्य-सम्पदा परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत प्रविण बज्राचार्यले जानकारी दिनुभएको छ ।

एप्लिकेशनमा अहिले बुङमतीको नक्सासँगै बस्तीभित्र रहेका घुम्नै पर्ने ठाउँको तस्बिरसहित संक्षिप्‍त जानकारी समावेश छ । आउँदा दिनमा प्रयोगकर्ताको आवश्यकतालाई मध्यनजर गर्दै एपलाई परिमार्जन गरिने उहाँको भनाई छ । बुङमती घुम्न सघाउने एप गुगल प्ले स्टोरमा उपलब्ध छ । साथै बुङमतीका धार्मिक एवं सांस्कृतिक सम्पदासँगै विभिन्न चाडपर्व, रीतिरिवाज लगायत विस्तृत जानकारीका लागि वेबपोर्टल संचालनमा छ ।

 

 

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update