Kath khabar
नेपाल टेलिकमद्धारा सामूहिक सन्देश पठाउन सकिने सेवाको सुरुवात


 
           काठमाडौं, कात्तिक ८ । नेपाल टेलिकमले कम्पनीका ग्राहकहरुले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरूलाई सामूहिक सन्देश पठाउन सकिने सेवा भोलि कात्तिक आठ गते मंगलबारदेखि सञ्चालनमा ल्याउने भएको छ । यो सेवा कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने छ ।

यो अफर अन्तर्गत दुई हजार,पाँच हजार र १० हजार वटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने सामूहिक सन्देश सेवा उपलब्ध हुनेछ । प्रति सन्देश मात्र ५० पैसामा पठाउन सकिने यस प्याकमा २ हजार एसएमएस दुई दिनभित्र पठाउन जम्मा एक हजार रुपैंयाँ मात्र लाग्नेछ । त्यसैगरी २५ सय रुपैंयाँमा पाँच दिन भित्रमा पाँच हजार एसएमएस पठाउन सकिने प्याक र पाँच हजार रुपैंयाँमा१० दिन भित्रमा १० हजार वटा एसएमएस पठाउन सकिने प्याक उपलब्ध हुनेछ । कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर समावेश छैन ।  

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्नेछ ।  यो सेवा प्रयोग गर्नका लागि ग्रुप एसएमएस एनटिसी डट नेट डट एन. पी लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो सम्पर्कमा भएका नम्बरहरु एक्सेल सिट मार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ । यस अफरबाट ग्राहकहरुले लाभ लिने अपेक्षा कम्पनीले लिएको छ ।


 

प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update