Kath khabar
"नेपालमै बनेको ‘यति’ हेल्मेट", माग धेरै, उत्पादन थोरै 

                              रुपन्देही, मंसिर १६ ।  "नेपालमै बनेको हेल्मेट," फुल फेस र हाफ फेस जुनसुकै मोडलमा उपलब्ध हेल्मेट बनाउन कम्पनीलाई भ्याई नभ्याई छ । बजारको माग करिव ३ हजार युनिट छ, तर दैनिक रुपमा करिव १ हजार २ सय युनिट हेल्मेट मात्र   उत्पादन भइरहेको छ ।  कुनै हेल्मेटमा बुद्ध र कुनैमा महादेवको तस्बिर छ ।

कुरा सुन्दा कुनै अन्य देशको कम्पनीको जस्तो लागे पनि यो बाइक चलाउदा टाउकोमा लगाउने हेल्मेट उत्पादन गरिरहेको नेपाली कम्पनीको हो । रुपन्देहीको भलुही, देवदहमा अवस्थित मयुर स्टिल इन्डष्ट्रिजले उत्पादन गरेका हेल्मेटको माग पछिल्लो समयमा बढ्दै गएको छ । नेपाली उत्पादन अनि आवश्यक सुरक्षात्मक व्यवस्थापनका साथ उत्पादन गरिएको बताइने ‘यति’ ब्रान्डका हेल्मेट नेपालको पहिचान बनेका छन् ।

मयुर स्टिल इन्डष्ट्रिजका म्यानेजिङ डाइरेक्टर महेश थैब 'यति' ब्रान्डका हेल्मेटले पछिल्लो समयमा राजधानी काठमाडौंका साथै देशका प्रमुख सहर बजारमा माग भैरहेको बताउँछन् । यति हेल्मेट हाल ७ वटा मोडलमा उपलब्ध भइरहेको र आगामी दिनमा थप २ वटा मोडल समेत उत्पादनको तयारी भइरहेको छ ।

वास्तवमा थैव परिवारले आवास ग्रुप अन्तर्गत विशेष गरी निर्माण व्यवसायको क्षेत्रमा कार्य गरिरहेको छ । यस ग्रुप अन्तर्गतको मयुर स्टिल इन्डष्ट्रिजले उत्पादन गरेका लेग गार्ड समेत बजारमा परिचित छन् । बाइक एसेसरिजको रुपमा परिचित लेग गार्ड उत्पादन गर्दै जादा व्यवसाय विस्तारको क्रममा हेल्मेट उत्पादनमा समेत लागेको थैब बताउँछन् । भन्छन, ‘करिब ३ वर्ष देखि लेग गार्ड उत्पादनमा लागेको भए पनि करिव २ वर्ष यता हामी गुणस्तरीय हेल्मेट उत्पादनमा लागेका छौ ।’

हेल्मेट उत्पादन गरेर मात्र हुँदैन, गुणस्तरीय पनि हुनुपर्छ । नेपाली बजारमा धेरै ब्रान्डका नेपालमै उत्पादन भएका हेल्मेट उपलब्ध छन् । यद्यपि यस्ता हेल्मेट गुणस्तरीय छैनन् भन्ने गरेको पनि पाइन्छ । तर यति ब्रान्डका हेल्मेट गुणस्तरीय भएको महेशको दाबी छ । उनका अनुसार हेल्मेटले आईएसओ प्रमाणपत्र पाइसकेको छ । नेपालमा भने यस्तो प्रमाणपत्र दिने व्यवस्था अझै छैन, उनी भन्छन्, ‘नेपालको नापतौल तथा गुणस्तर विभागले हेल्मेटको गुणस्तरीयता मापनाका लागि मापदण्ड बनाउने क्रममा छ । यसले गर्दा अहिले सम्म नेपाली हेल्मेटको गुणस्तर मापन गर्ने आधिकारिक निकाय नेपालमा छैन । केही समयमै विभागले एनएस चिन्ह अंकित प्रमाणपत्र प्रदान गर्ने कुरामा हामी आशावादी छौ ।’

तर पनि यति ब्रान्डको हेल्मेटले आईएसओ प्रमाणपत्र प्राप्त गरेको उनले बताए । हेल्मेट निर्माणका लागि अनब्रेकेबल कभरको प्रयोग गरिएको छ । त्यही अनुसारको दाना प्रयोग गरिएको छ । कम्पनीले हेल्मेटमा प्रयोग गर्ने थर्मोकोल पनि आफै नै उत्पादन गरिरहेको छ । यसले गर्दा हेल्मेट जति बजारिए पनि नफुट्ने उनको दावी छ । गुणस्तरमा कुनै सम्झौता नगरिएको उनले बताए ।

हेल्मेट उत्पादनका लागि भारतका प्रतिष्ठित हेल्मेट कम्पनी स्टड र स्टिलबर्डमा काम गरेका दक्ष जनशक्ति कार्यरत छन् । उनीहरु करिब १५ वर्षको अनुभवी भएको थैबले बताए ।

गुणस्तरीय भएकैले नेपाली बजारमा यति हेल्मेटको उच्च माग छ । तर माग अनुसार उत्पादन उपलब्ध गराउन सकिएको छैन । थैबका अनुसार दैनिक रुपमा करिव १ हजार २ सय हेल्मेट उत्पादन भइरहेको छ भने बजार माग करिब ३ हजार युनिट हेल्मेटको छ ।

यति ब्रान्डका हाफ फेस र फुल फेस हेल्मेटको मूल्य नेपाली बजारमा ९ सय देखि ३५ सय रुपैयाँ सम्म छ । नेपाली पहिचान झल्किने र नेपालमै बनेका सुरक्षित हेल्मेट प्रयोग गर्न पाउनु आफैमा गर्वको विषय हो । त्यसैले त यसको माग धान्न समेत कम्पनीलाई गार्‍हो भएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update