Kathkhabar
सयौं क्वीन्टल जिम्बु गाउँमै थन्कियो


                       मुगु, पुस १२ ।  मुगुको डोल्पु गाउँमा सयौं क्वीन्टल जिम्बु थन्किएको छ। मुगुम कार्मारोङ गाँउपालिका-१ डोल्पु क्षेत्रको नाम्लाङ्ग खोलामा पाइने जिम्बुलाई ब्यापार ब्यवसायमा कर तोकेपछि स्थानीयले संकलन गरेको जिम्बु गाउँमै थन्किएको हो। मसला प्रजातिमा राखिएको जिम्बुलाई चालू आर्थिक वर्षबाट वनस्पतिजन्य वनपैदावारमा राखेपछि जिम्बु ब्यापार ब्यवसाय गर्ने ब्यापारी तथा संकलन कर्ताहरूबाट प्रति केजी १० रुपैयाँका दरले कर तोकेपछि स्थानीयले संकलन गरेको सयौं क्विन्टल जिम्मु डोल्पु गाउँमै थन्किएको हो।

भान्सामा दाल र तरकारी झान्नका लागि प्रयोग हुने जिम्बु नेपालका उच्च हिमाली क्षेत्रका केही भागमा मात्र पाइन्छ। ४ हजार मिटर उचाइमा पाइने जिम्बु साउनदेखि कार्तिकको अन्तिम सातासम्म २-३ दिन हिँडेर खोला तथा गुफामै बास बसेर स्थानीयले संकलन गर्छन्। संकलित जिम्बु ढुङ्गामा काठको मुग्राले चुट्छन्। चुटी सकेपछि एक हप्ता पाटनमै सुकाउछन्, सुकेपछि मात्र जिम्बु प्रयोग गर्न मिल्छ। 

‘अघिल्ला वर्षहरूमा मसला प्रजाति भनेर कुनै पनि निकायलाई  राजस्व बुझाउनु पर्दैनथ्यो। खुला रूपमा व्यापार ब्यवासय गरेका थियौ। यो वर्षबाट वन डिभिजन कार्यालयले जिम्बुको ब्यापार ब्यवसायमा प्रति किलो १० रुपैयाँ करले तोकेपछि स्थानीयले संकलन गरेको सयौं क्वीन्टल जिम्बु गाउँमै थन्किएको मुगुम कार्मारोङ गाँउपालिका-१ का सोनाम लामाले बताए।

डोल्पु गाँउका स्थानीयको मुख्य आयश्रोत भनेकै जिम्बु हो। यहाँका स्थानीयले संकलन गरेर ल्याएको जिम्बु मुगु जिल्लामा मात्र नभइ जुम्ला, बाजुरा, नेपालगन्ज, सुर्खेत, काठमाडौं र पोखरा लगायत देशका ठूला सहरमा  निर्यात हुने गरेको छ। स्थानीयहरूले गाउँमै ९५० रुपैयाँ प्रति किलोको दरले बिक्री गर्छन्। 

 

 

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update