Kath khabar
सामाजिक सञ्चालमा देखिएको रसिद डिपोजिट रसिद मात्रै हो : भन्सार कार्यालय 

 

                            काठमाडौं, पुस २१।  अहिले सामाजिक सञ्चालमा धेरै प्रयोगकर्ताहरूले त्रिभुवन विमानस्थल भन्सार कार्यालयले दिएको रसिद सेयर गरिरहेका छन्। 

रसिदमा व्यक्तिको नाम, पासपोर्ट नम्बर, दर्ता नं, वस्तुको विवरण र मिती उल्लेख छ। तर यसमा व्यक्तिले तिर्नुपर्ने कर बराबरको मूल्य र कार्यालयको आधिकारिक छाप भने छैन। यस्ता सही छाप नभएका रसिद सक्कली हुन् कि नक्कली हुन् भन्ने विषयमा धेरैले चासो व्यक्त गरेका छन्। 

यस विषयमा भन्सार विभागले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त रसिद वस्तु ‘डिपोजिट’को लागि मात्रै दिइएको बताएको छ। 

‘विदेशबाट आउने यात्रुहरूको चेकजाँच गर्दा कानुन बमोजिम सुविधामा तोकिएको परिमाण भन्दा बढी मात्रामा मालवस्तु ल्याएमा सुरक्षित राख्ने प्रयोजनको लागि डिपोजिट रसिद जारी गर्ने गरिएको छ। यसरी जारी गरिएको रसिद सम्बन्धित यात्रुले तत्कालै वा तोकिएको अवधि भित्र मालवस्तु छुटाई लैजान चाहेमा कार्यालयले प्रज्ञापन पत्र तयार गरिदिने र तोकिएको बैंकमा राजस्व जम्मा गरेपछि सम्बन्धित व्यक्तिलाई जिम्मा लगाउने गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ। 

कार्यालयका अनुसार व्यक्तिले सामान छुटाई लैजाने बेलामा भन्सार विभागको छाप, व्यक्तिले तिरेको कर बराबरको मूल्य लगायत व्यक्तिको निजी विवरण सहितको रसिद र प्रज्ञापन पत्र दिने गरेको छ।
bhansar1672911677.jpg

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update