Kath khabar
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने


                 काठमाडौं पुस २२ । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडूबीच मर्जर प्रश्चात आगामी पौष २५ गतेदेखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।

यसअघि दुवै बैंकका साधारण सभाबाट ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो भने नेपाल राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृति प्राप्त भइसकेको छ ।

बैंकको मर्जर पश्चात एकीकृत वित्तीय कारोबार सुरु गर्न डाटा माइग्रेसनका लागि आगामी शनिबार र आइतबार २ दिन ग्लोबल आइएमई बैक लिमिटेडको सम्पूर्ण बैकिङ्ग सेवाहरु बन्द रहनेछ । तर सो अवधिमा बैंकको मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड, एटिएम तथा एजेण्ट मार्फत हुने रेमिट्यान्स सेवा भने यथावत सञ्चालनमा रहनेछ । यसबाट आफ्ना ग्राहकहरुमा पर्न जाने असुविधाप्रति बैंक क्षमाप्रार्थी छ ।

मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब, चुक्ता पूँजी ३५ अर्ब ७७ करोड, कूल निक्षेप चार खर्ब आठ अर्ब, कूल कर्जा तीन खर्ब ७६ अर्ब भन्दा बढि पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ । नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनुहुनेछ ।

त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनुहुनेछ । २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बैंक लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

दुई बैंकहरुको मर्जर पश्चात् कूल तीन सय ६५ वटा शाखा कार्यालय, तीन सय ६७ एटिएम, दुई सय ८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखाकार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाखभन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसूचकहरूमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठुलो बैंक हुनेछ ।


 

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update