Kath khabar
नारायणीको नयाँ आकर्षण ‘राइनो क्रुजसिप’

 

                    चितवन, माघ २ ।  नारायणी नदीमा मिनी क्रुजसिप सञ्चालनमा आएको छ । भरतपुर-१६ मंगलपुर काब्रेघाटमा सञ्चालक कम्पनीले आइतबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको हो ।

दुईतले मिनी क्रुजसिपमा २०० जनाभन्दा बढी यात्रु क्षमताको छ । तर, तत्कालका लागि १८० जनालाई राखेर नारायणीमा सयर गराइने सञ्चालक कम्पनी राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले जनाएको छ । नारायणगढ बजार देखि झन्डै ६ किमि पश्चिममा क्रुजको स्टेसन छ ।

चितवन घुम्न आउनेलाई यसले नयाँ आकर्षण थपेको छ । नारायणीमा ४० किलोमिटरसम्म चलाउन अनुमति भए पनि तत्काललाई लामो दूरीमा नचलाउने कम्पनीका कार्यकारी निर्देशक दीपक ढुंगेलले बताए । अहिलेका लागि यसमा यात्रा गर्न प्रतिघण्टा ७०० रुपैयाँ टिकट राखिएको छ । थप १,५०० रुपैयाँ तिरे ब्रेकफास्ट क्रुजिङ, २,००० रुपैयाँमा लन्च र २,५०० मा डिनर क्रुजिङ उपलब्ध गराउने उनले जानकारी दिए ।

अन्य विशेष क्रुजिङ पनि सञ्चालन गर्ने कम्पनीको योजना छ । विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव, बिहे वार्षिकोत्सव जस्ता कार्यक्रम गर्न पनि विशेष दरमा क्रुज सेवा उपलब्ध हुने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । काब्रेघाटमा भारतको केरलाबाट प्राविधिक ल्याएर बनाइएको क्रुजको ३ वर्षअघि परीक्षण गरिएको हो । तर, कोरोना महामारीका कारण सञ्चालनमा ल्याउन ढिला भएको कम्पनीका सञ्चालक रामचन्द्र कँडेलले बताए ।

उनका अनुसार करिब १५ करोड रुपैयाँको लागतमा क्रुजसिप तयार भएको हो । क्रुजसिप स्टेसन आडमा तटबन्धन गर्न तत्कालीन वाग्मती प्रदेश सरकारले १ करोड रुपैयाँ उपलब्ध गराएको थियो । गैंडाको राम्रो बासस्थल मानिएको मंगलपुरको ज्ञानेश्वर सामुदायिक वनको पूर्वी किनारमा क्रुजसिपको स्टेसन छ । गैंडा हेर्न रुचि राख्ने र नयाँ तरिकाले पर्यटकीय आनन्द लिन चाहनेहरूलाई क्रुजसिपले लोभ्याउने कम्पनीका सञ्चालक कँडेलले बताए ।

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update