Kath khabar
उच्च हिमाली क्षेत्रमा हल्का हिमपात, देशैभर हुस्सु र कुहिरो

 

                                  काठमाडौं, माघ ३ ।   हाल काठमाडौं उपत्यका सहित देशैभर हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका १ वा २ स्थानमा हल्का हिमपात तथा तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिनुभयो।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पहाडी भू-भागमामा आंशिक देखि सामान्य बदली रहने र तराईका केही स्थानमा हुस्सु-कुहिरो लागेको छ।

आज दिउँसो र राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका १ वा २ स्थानमा हल्का हिमपातको सम्भावना छ।

मौसमविदका अनुसार आज बिहान लागेको बादल अबेर खुल्ने तर कडा घाम नलाग्ने सम्भावना छ।

‘हाल लागिरहेको कुहिरो केही अबेर खुले पनि कडा घाम लाग्ने सम्भावना छैन। उच्च पहाडी क्षेत्रमा हिमपात र तराईमा बाक्लो कुहिरो लाग्ने देखिन्छ,’ मौसमविद मानन्धरले भन्नुभयो।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।

यस्तै भोलि (बुधबार) पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका १ वा २ स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतस् सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका १ वा २ स्थानमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी, बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका १ वा २ स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update