Kath khabar
लगातार ३ दिनको बिदाले राहदानी विभागमा सेवाग्राहीको कुम्भ मेला झैँ भिड

 

                                काठमाडौ, माघ ४ ।  प्रधानमन्त्री र गृहमन्त्रीले पासपोर्ट लिन लामो लाइन बस्नुपर्ने झण्झट हटाउने भने पनि काठमाण्डौको राहदानी विभागमा पहिलेभन्दा झन् भिड थपिएको छ । गएको पुष १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या समाधान हुन झण्डै एक हप्ता लाग्यो । पुष २४ मा सर्भर बनेपछि २ दिन काम भयो । पुष २५ र २६ मा राहदानी वितरणको काम भएपछि पुष २७ मा राष्ट्रिय एकता दिवसको छुट्टी भयो । फेरि पुष २८ र २९ गते काम भएपछि पुष ३० गते शनिवार र भोलिपल्ट आइतवार माघे संक्रान्तिको पूर्व निर्धारित छुट्टी थियो । सोमवार फेरि विमान दुर्घटनाको शोक बिदा थपिएपछि राहदानी विभाग एकै पटक मङ्गलवार मात्र खुल्यो ।

मङ्गलवार कार्यालय खुल्दा बाटो छिचोल्नै नसक्ने गरी सेवाग्राहीको भिड लाग्यो । अरु सामान्य बेलामा एउटा मात्र लामो लाइन हुने गरेको विभागमा मङ्गलवार ३ वटा लाइन थिए । तर लाइन नसर्दा सेवाग्राही निराश भए । यस्तै निराशा र मलिन अनुहार बनाएर लाइनमा उभिरहनु भएको थियो, कीर्तिपुर पांगाकी सुष्मा योञ्जन । उहाँ वैदेशिक रोजगारमा जानका लागि राहदानी बनाउन आउनु भएको हो ।

योञ्जनलाई ३ दिनको बिदापछि विभागमा अत्यधिक भिड हुन्छ भन्ने नलागेको होइन । तर, छिटो राहदानी लिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताका कारण उहाँ बुझेरै भए पनि भिडमा उभिनु भएको हो ।

‘अरु बेलामा त खुट्टा टेक्ने ठाउँ नहुने यो पासपोर्टको अफिसमा आज ३ दिनको बिदापछि झन कति भिड होला भन्ने थाहा नभएको होइन । तर, थाहा पाए पनि लाइन लाग्न आउनै पर्यो, बाध्यता छ, नत्र यो भिडमा लाइन लाग्न कोही रहरले किन आउँथे होलान् र’ उहाँले भन्नुभयो । योञ्जनले भनेजस्तै धेरैजसो वैदेशिक रोजगारीमा छिटोभन्दा छिटो जानका लागि राहदानी लिन लाइनमा उभिरहेका थिए ।

पर्वतका किरण कार्कीले राहदानी बनाउन खोजेको धेरै समय भैसक्यो । यसका लागि उहाँ आफ्नो जिल्ला प्रशासन कार्यालयमा पनि जानु भएको हो । तर, त्यहाँ राहदानी बन्न करिब एक महिना लाग्ने भनेपछि उहाँ छिटो हुन्छ भनेर काठमाण्डौ आउनु भएको हो । उहाँलाई अरु सामान्य बेलामा काठमाण्डौको राहदानी विभागको भिडका बारेमा थाहा नभएको पनि होइन । र, लगातारको ३ दिनको बन्दपछि खुलेको कार्यालयमा झन भिड हुन्छ भन्ने पनि लागेकै थियो । तर, यो भिड उहाँले अनुमान गरेभन्दा अत्यधिक थियो ।

उहाँ भन्नुहुन्छ, ‘काठमाण्डौको पासपोर्टको भिडका बारेमा थाहा नभएको त होइन । तर, जिल्लामा जाँदा एक महिना लाग्छ भनेपछि यहाँ आएको हो । यहाँ ३ दिन बिदापछि खुल्दा भिड धेरै हुन्छ भन्ने नलागेको होइन । तर, यति धेरै भिड होला भन्ने अनुमान चाहिँ थिएन ।’

बिहान देखि नै लाइन बसे पनि उहाँले फर्म बुझाउन भने पाउनु भएन । अत्यधिक भिड भएका कारण विभागले २ बजेपछि लाइनमा लागेका सेवाग्राहीलाई भित्र पहिले नै अत्यधिक भिड भएका कारण उहाँ जस्ता फोटो खिचाउन लाइनमा बसेकाहरुलाई भोलि बिहान आउन भनेर माइकिङ गरिरहेको थियो ।

३ दिनको बिदा पछिको भिड धेरै हुन्छ भन्ने विभागलाई पनि अनुमान थियो । यसका लागि विभाग तथा कर्मचारी तयार नै रहेको बताउनुहुन्छ प्रवक्ता दुरपदा सापकोटा । उहाँ भन्नुहुन्छ, ‘हामीले सोमवार अत्यावश्यक सेवा दिने भनेर कार्यालय खोलेका थियौँ । तर, सेवाग्राही समक्ष सूचना नपुगेका कारण हुनसक्छ उहाँहरु आउनु भएन । हिजो त यहाँ कुम्भ मेला नै थियो ।’ आज बुधवार हिजोजत्तिकै भिड नभए पनि लाइन लामो छ ।

सापकोटाका अनुसार सरकारले अत्यावश्यक सेवामा भिड कम गर्ने निर्णयपछि विभागले ३-४ वटा अनौपचारिक कार्ययोजना बनाएको छ । तर, यीमध्ये कुन लागू गर्ने र कसरी गर्ने भन्ने छलफलमा छ विभाग ।

प्रवक्ता सापकोटा भन्नुहुन्छ ‘हामी उत्तम विकल्पको खोजीमा छौँ । तर, यही भन्ने भइसकेको छैन । कतै हामीले भनेको उत्तम विकल्पबाट पनि ब्याक हुनुपरेको खण्डमा त्यसले नराम्रो सन्देश जाने हुँदा हामी छलफलमै छौँ ।’

७७ वटा जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट सहज रुपमा राहदानी वितरण गर्ने हो भने विभागमा अहिले जस्तो भिड हुँदैन । विभागले टोकन प्रणाली लागू गर्ने सोच पनि बनाएको छ । यस्तै कामको अवधि बढाएर बिहानै देखि राहदानी वितरण थाल्ने विकल्पबारे पनि विभागले योजना बनाइरहेको छ ।

विभागकी प्रवक्ता सापकोटा भन्नुहुन्छ, ‘अहिले २-३ वटा विकल्पका बारेमा हामीले छलफल गरिरहेका छौँ । पहिलो भनेको टोकन सिस्टम । अर्को भनेको सबै फर्म ओपन गरेर २-३ महिनामा पासपोर्ट दिने । अनि अर्को भनेको कामको सिफ्ट बढाउने ।’

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update