Kath khabar
धरानमा हर्क साम्पाङले डोजर चलाउँदा स्थानीय र सुरक्षाकर्मीबीच झडप

 

                                 धरान, माघ ८ ।  सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएको घर धरान उपमहानगरले आइतबार डोजर लगाएर भत्काएको छ। 

त्यसक्रममा स्थानीयबासी र सुरक्षाकर्मीबीच झडपसमेत भएको छ। यद्यपि ठूलो संख्यामा परिचालित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले स्थिति नियन्त्रणमा लिएका थिए। 

धरान उपमहानगरको वडा नम्बर ५ मा रहेको अँधेरी खोला किनारको जग्गा अतिक्रमण गरेर स्थानीय मुना चौधरी लिम्बूले घर बनाएकी थिइन्। सोही घर उपमहानगरले भत्काएको हो।  

उपमहानगरले घर भत्काउनु अघि २ पटक घर नबनाउनन सूचना दिएको र बनेको संरचना भत्काउन भनेको उपमहानगरले कार्यालयले जनाएको छ। तर, राजनीतिक आडमा जमिन मिचेको भन्दै घर भत्काइएको कार्यालयको भनाइ छ।

नगरको डोजर आउने सूचना पाएपछि स्थानीयबासी घरको सुरक्षार्थ भेला भएका थिए। त्यो समूहलाई धरान ५ का पूर्व वडाध्यक्ष सन्तोष लिम्बूको साथ थियो। 

उनीहरुले मुना चौधरी लिम्बूले लामो समयदेखि भोगचलन गरिरहेको जमिनमा घर बनाएको भन्दै भत्काउन नहुने अडान लिएका थिए। ‘यहाँ आएर मेयर हर्क साम्पाङले हामीसँग छलफल गरून्,’ भेला भएका स्थानीयबासीले सुरक्षाकर्मीसँग भनेका थिए, ‘यसरी जथाभावी गर्न पाइन्नँ।’

पूर्व वडाध्यक्ष लिम्बूले उपमहानगरले खोलाको भाग सिमांकन गर्नुपर्ने पनि माग गरेका थिए। उपमहानगरले घर नबनाउन पत्राचार गरेपछि घरधनी मुनाले वडा कार्यालयलाई  विपक्षी बनाएर अन्तरिम आदेशको माग गर्दै जिल्ला अदालत सुनसरीमा रिट दायर गरेकी थिइन्। तर उनको रिटमा अदालतले अन्तरिम आदेश दिएन।

घर बनेको जग्गालाई फुटबल मैदान बनाउने भन्दै यसअघिका वडाअध्यक्ष लिम्बुले नै सरकारी बजेटबाट रिटेनिङ वाल उठाएर जग्गा संरक्षण गरेका थिए। 

‘घरबार नभएकाहरुको बासस्थान उठाउँनदिनँ भन्ने पूर्व प्रतिबद्धता मेयरले भुलेर घर भत्काउन लगाएका छन्, यो आपत्तिजनक छ’, आज बिहान डोजर पुगेपछि स्थानीयबासीले प्रतिवादका क्रममा भनेका थिए, ‘मेयरले यसबारे जवाफ दिनुपर्छ।’ उपमहानगरले निर्णय गरेर घर भत्काएको जनाएको छ।

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update