Kath khabar
बाजुरामा भूकम्पका कारण १ जनाको मृत्यु, विभिन्न ठाउँमा धनमाल क्षति

 

                             बाजुरा, माघ ११ ।  भूकम्पका कारण बाजुरामा १ जनाको मृत्यु भएको छ भने बझाङ, डोटी, अछाम तथा मुगुका विभिन्न स्थानमा धनमाल क्षति भएको छ ।  

बाजुराको गौमुल गाउँपालिका-२ जुरेलि बस्ने ३५ वर्षीया जमुना रोकायाको मंगलबार दिउँसो आएको भूकम्पमा परी मृत्यु भएको छ । घाँस काटी घरतर्फ फर्किने क्रममा भूकम्पका कारण भिर माथीबाट ढुङगा खसेर टाउकोमा लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो । साथै बडिमालिका नगरपालिका-२ घागर बस्ने ४५ वर्षीया चन्दा महत भूकम्प आउँदा आफ्नै घरबाट बाहिर भाग्ने क्रममा घाइते भएकोमा  उपचारको लागि जिल्ला अस्पताल बाजुरा पठाइएको छ ।

यसैगरी गौमुल गाउँपालिका-१ अम्लिश बस्ने ३५ वर्षीय राजदल बोहरा सोही ठाउँस्थित पल्ला दोरणी भन्ने ठाउको जङ्गलमा भेडा बाख्रा चराईरहेको अवस्थामा भूकम्पका कारण माथिबाट आएको पहिरोमा परी सामान्य घाइते भएका छन् । उनको सोही स्थित अम्लिस स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । भूकम्पका कारण बाजुराका विभिन्न स्थानीय तहका वडा एरिया गरी जम्मा ६५ वटा घरमा क्षति भएको छ । 

बझाङको जयपृथ्वी नगरपालिका-१० चैनपुर बजार मंगलबार दिउँसो आएको भूकम्पका कारण १२ जनाको घर क्षति भएको छ । भूकम्पका कारण मष्टा गाउँपालिका-४ आग्रा बस्ने जनक कठायत लगायत ५ जनाको घर, सुर्मा गाउँपालिका-१ दौलीचौरमा रहेको प्रहरी चौकी दौलीचौरको भाडामा रहेको घरको भान्सा कोठा र तलकोट गाउँपालिका-१ धमेनामा रहेको वडा कार्यालय भवन लगायत ४ जनाको घरमा क्षति भएको छ ।  

भूकम्पका कारण बझाङका विभिन्न ठाउँमा ५७ वटा घर र ७ वटा सरकारी कार्यालय गरी जम्मा ६४ वटा घरमा क्षति भएको छ । साथै भूकम्पका कारण घाइते भएका जयपृथ्वी नगरपालिका-११ बस्ने ५२ वर्षीय हरिकृण्ण जोशीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

भूकम्पका कारण डोटी जिल्लाका विभिन्न वडा एरियामा ३ वटा कच्ची घरमा आशिंक क्षति पुगेको छ भने अछाम जिल्लाको विभिन्न वडा एरिया जम्मा ४ वटा घरमा क्षति पुगेको छ । त्यस्तै मुगु खत्याड गाउँपालिकाको विभिन्न वडा एरियामा २ वटा घर भत्किएर पूर्ण रुपमा क्षति भएको छ भने ९ वटा घरमा आंशिक क्षति भएको छ । भूकम्प गएका स्थानमा तत्काल खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आवश्यक उद्दार कार्य गरिरहेको छ । 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update